फिल्म । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा चलचित्र निर्देशक तथा प्रोफेसर सिए फेई निर्णायक समितिको प्रमुखमा मनोनित भएका छन् ।
दुई पटक बर्लिन चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जित्न सफल हुनुभएका निर्देशक फेईलाई महोत्सवमा जोड्न पाउँदा आफूहरू उत्साहित रहेको महोत्सवका अध्यक्ष केपी पाठकले बताए । उनले महोत्सवमा निर्देशक फेईले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको बताए । मास्टर क्लासअघि उनको अन्तिम निर्देशन रहेको चलचित्र ‘सङ अफ तिब्बत’ देखाइने छ ।
बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका फेईले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ ले बर्लिनको दोस्रो ठूलो अवार्ड ‘सिल्भर लाइन’ र ‘वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड ‘गोल्डेन बेय’र जितेको थियो । सन् २००० मा ‘सङ अफ तिब्बत’ निर्देशन गरेयता उनले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् ।
बेइजिङ फिल्म एकेडेमीका पूर्व उपाध्यक्ष समेत रहेका निर्देशक फेई सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न छन् । अहिले विश्व सिनेमामा नाम बनाएका चेन काई, तिआन् झाङझुङ, झाङ यिमाऊ, जिया जाङके सिए फेईकै विद्यार्थी हुन् । ८० वर्षको उमेर पार गरेका निर्देशक फेई अहिले पनि नयाँ पुस्ताका चलचित्रकर्मीका लागि आर्ट कन्सल्टेन्टको रुपमा काम गर्छन् ।
यसअगाडि महोत्सवमा चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भईसकेको छ । आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौँमा हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएको छ ।
अध्यक्ष पाठकका अनुसार महोत्सवमा सहभागी चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रिया कार्यक्रम गरिनेछ ।