हलिउड इन्डी फिल्म ‘काउगर्ल्स एन्ड इन्डियन्स’ गर्दै मनीषा

फिल्म । अभिनेत्री मनीषा कोइराला हलिउडको नयाँ इन्डी फिल्म ‘काउगर्ल्स एन्ड इन्डियन्स’ मा मुख्य भूमिकामा देखिने भएकी छन् । फिल्मको छायांकन आगामी नोभेम्बरदेखि अमेरिकाको टेक्सास राज्यको अस्टिन तथा आसपासका क्षेत्रमा सुरु हुने भेराइटी म्यागजिनले जनाएको छ ।

यसअघि ‘काउब्वाइज एन्ड इन्डियन्स’ नाममा रहेको फिल्मको लेखन तथा निर्देशन तेजल देसाईले गर्नेछिन् । उनले आफ्नो अवार्ड विजेता छोटो फिल्म ‘काउब्वाइज एन्ड हिन्दुज’ लाई विस्तार गर्दै यो फिल्म निर्माण गर्न लागेकी हुन् ।

फिल्मले टेक्सासको परिवेशमा आफ्नो पहिचानको खोजी गरिरहेकी एक मध्यम उमेरकी भारतीय महिलाको कथा प्रस्तुत गर्नेछ । दक्षिण एसियाली विरासत र अमेरिकी परिवेशबीचको सांस्कृतिक विस्थापन, मित्रता तथा संघर्ष कथाको केन्द्रमा रहनेछ ।

मनीषाले आफूलाई प्रस्तुत गरिएको कथाले सीमाना पार गर्ने सम्भावना बोकेको बताएकी छन् । निश्चित उमेर समूहका महिलाका लागि पर्याप्त भूमिका लेखिने क्रम अझै कम भए पनि अवस्था बिस्तारै परिवर्तन भइरहेको उनको भनाइ छ ।

निर्देशक तेजल देसाईका अनुसार यो फिल्म अमेरिकी दक्षिणपश्चिमी क्षेत्रमा आफ्नो पहिचान पत्ता लगाउने एक मध्यम उमेरकी भारतीय महिलाको ‘कमिङ अफ एज’ कथा हो। मनीषाको अभिनयमा रहेको यथार्थपरकता, संवेदनशीलता र दृढता फिल्मको मुख्य पात्रका लागि उपयुक्त रहेको उनले बताएकी छन्। फिल्मको निर्माण कृतना बाँस्कोटाले गर्नेछिन्।

कमेन्ट गर्नुहोस्