‘श्रीकृष्णप्रतिको आस्थालाई केन्द्रमा राखेर ‘एक भगवत् गीता’ तयार गरेका हौँ’ : झरना

फिल्म । विश्व हिन्दू महासंघ, शिव सेना नेपाल, विश्व हिन्दू युवा संघ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले फिल्म ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ । प्रदर्शनको सातामा यसरी विवाद भएपछि यसको प्रदर्शनमा अन्यौलता थपिएको छ ।

यही भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘एक भगवत् गीता’ले नामलाई लिएर उत्पन्न विवादका कारण बोर्डबाट सेन्सर सिफारिस नपाएपछि फिल्मकर्मीले समेत विरोध गरेका छन् । सेन्सर मै नपुगी फिल्म रोकिनु गलत भएको भन्दै सामाजिक सञ्जालमा विरोध हुँदा निर्देशक तथा अभिनेत्री झरना थापाले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गरेकी छिन् ।

‘समाजको केही यथार्थलाई टिपेर एउटा फिल्म हामीले बनायौं । फिल्मको कथावस्तु तथा मेरो भगवान् श्रीकृष्णप्रतिको असिम आस्थालाई केन्द्रमा राखेर फिल्मको नाम ‘एक भगवत् गीता’ राख्यौं । मैले मेरो जीवनभर राष्ट्र, हाम्रो देशको इतिहास, भौगोलिक अखण्डता, सांस्कृतिक विविधता, धार्मिक आस्था र सहिष्णुतामा आँच आउने कर्म अहिलेसम्म कहिल्यै गरेको छैन’, निर्देशक थापाले लेखेकी छिन् । बारम्बार हामीले फिल्मको कथावस्तु सुनाएर ‘श्रीमद्भागवद् गीता’को अवहेलना नभएको स-प्रमाण बताइरहँदा पनि फिल्मलाई सेन्सर अनुमति नदिनुले आफू मर्माहत भएको उनले उल्लेख गरेकी छिन् ।

चलचित्र विकास बोर्डले फिल्मको सेन्सर सिफारिसको विषयमा शुक्रबार बोर्ड बैठकबाट निर्णय गर्ने जानकारी गराएको थियो । तर, शुक्रबार यसबारेमा कुनै निर्णय हुन सकेन । आइतबार दिउँसोसम्म फिल्मको सेन्सर सिफारिसको विषयमा बोर्डले ठोस निर्णय लिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्