पोस्ट प्रोडक्सनमा ‘लन्डन टु पेरिस’

फिल्म । घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ को पोस्ट प्रोडक्सनको काम सुरू गरिएको छ । फिल्मको प्राविधिक कारणले २० प्रतिशत बाँकी रहेको सुटिङ सकिएपछि यसको सम्पादन भारतस्थित मुम्बईमा भइरहेको छ ।

निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही दृश्य बाँकी रहेको थियो । आफ्नो छायाँकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्का भारतको मुम्बईबाट नेपाल फर्किसकेका छन् । अन्तिम संपादन सकिएपछि रिलिज डेट घोषणा गर्ने तयारी रहेको छ ।

‘एक वर्षपछि सम्पूर्ण छायाँकन ढिलै गरी राम्रै भएकाले म पनि खुशी छु । अब सम्पूर्ण प्राविधिक काम सकेर प्रदर्शन तय गर्छौँ’, लामिछानेले भने । गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भुमिका रहेको ट्राभल लभस्टोरीको कथामा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन बेलायतमा गरिएको छ । निश्चल र गरिमा यहीबाट डेब्यू गर्दैछन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

कमेन्ट गर्नुहोस्