दर्शक भेट्न नेपाल आइपुगे ‘गजनी’

फिल्म । ‘ह्रस्व दीर्घ’मा काम गरेका भारतीय अभिनेता प्रदीप सिंह रावत नेपाल आएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ समूहसँग हल भिजिट गर्न र दर्शकसँग साक्षात्कार गर्न उनी नेपाल आएका हुन् । आइतबार राति श्रीमती कल्याणीसहित नेपाल आइपुगेका रावत भारतीय अभिनेता आमिर खान अभिनित फिल्म ‘गजनी’का भिलेन समेत हुन् । उनले आज काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको निर्देशक चन्द्र पन्तले बताए ।

नेपालभर प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ को सुखद सुरुआत भएको छ । शुक्रबार र शनिवार फिल्म हेर्न दर्शकको राम्रो चाँप हलमा देखिएको छ । प्रचार सामाग्री र स्टार कास्टका कारण चर्चामा रहेको फिल्म हेर्न दर्शक सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म उपस्थित भएका हुन् । दर्शकको उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाएका कारण आगामी दिनमा व्यापार बढ्ने विश्वास निर्माण टिमलाई छ ।

अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले दर्शकले फिल्मलाई रुचाएको बताइन । उनले भनिन्,‘हामी काठमाडौँ उपत्यकाको विभिन्न हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिईरहेका छौं । उहाँहरूले नै अब हाम्रो फिल्मको प्रचार गर्नुहुनेमा मसहित सम्पूर्ण टीम विश्वस्त छौं । दर्शकलाई एउटा उत्कृष्ट फिल्म दिने हाम्रो सपना आजबाट पूर्ण भएको छ, हामी प्रतिक्रिया लिन अधैर्य छौं ।’

पर्याप्त शो नहुँदा धेरै दर्शकहरु टिकट नपाएर फर्केको निर्माण पक्षको दाबी छ । अभिनेत्री ढुंगानाले फिल्मले आक्रामक व्यापार गर्दा पनि शो नथपिएको गुनासो गरिरहेकी छन् । यस्तै, निर्माण टिमले दुई दिनमा दुई करोड रुपैयाको ग्रस कलेक्सन गरेको जनाएको छ । निर्माण टीमले शुक्रबार ८० लाख र शनिवार एक करोड २० लाखको ग्रस कलेक्सन गरेको जनाएको छ ।

नेपाली र भारतीय कलाकारको अभिनय रहेको फिल्मको उच्च मेकिङ र पावरफुल स्टारकास्टका कारण दर्शक माँझ प्रतिक्षित थियो । ‘ह्रस्व दीर्घ’ एउटा पूर्ण रूपको फ्यामिली ड्रामा रहेको बताईएको छ । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

यसमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई भारतीय सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्