फिल्म । फूलपातीदेखि प्रदर्शनमा आएको फिल्म ‘हरिबहादुरको जुत्ता’ ले दोस्रो दिन पनि बिहानैदेखि दर्शकको बलियो साथ पाएको छ । पहिलो दिन अधिकांश शो हाउसफुलसहित उत्कृष्ट व्यापार गरेको यो फिल्मले दोस्रो दिन पनि देशभरका हलहरूमा हाउसफुल व्यापार गरेको निर्माण पक्षको दावी छ । बलियो ‘वर्ड अफ माउथ’का कारण हलहरूले फिल्मको शो संख्या थपेका छन्।
फिल्मका मुख्य अभिनेता हरिवंश आचार्य रिलिजको पहिलो दिनदेखि नै हल-हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । दर्शकको उत्साहपूर्ण प्रतिक्रियाले उनी निकै उत्साहित देखिएका छन् । दीपेन्द्र के. खनालद्वारा निर्देशित यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्मित यो फिल्म सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन् । फिल्मको छायांकन कृष्ण बहादुर थापाले गरेका छन् भने सम्पादन नकुल खड्काले गरेका छन् । ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको दुई दिनमा ५९ लाख ५८ हजार रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त फिल्मले असोज १३ गते एक सय ३४ शोबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ र दोस्रो दिन ३४ लाख ७३ हजार रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको छ ।









