फिल्म । अभिनेत्री वर्षा राउतले फिल्म‘ऐंचो पैंचो’मा राम्रो काम गरेको प्रतिक्रिया निर्माण पक्षबाट पाएको बताएकी छन् । आफ्नो चरित्रको लम्वाई भन्दा पनि महत्व यस फिल्ममा बढी भएको उनले बताइन । उनले भनिन्,‘हामी फिल्मभर हुनु भन्दा पनि आउने दृश्यमार्फत दर्शकको स्मरणमा रहनसक्नु पर्दछ । मैले यसफिल्ममा यस्तै काम गरेकी छु । मेरो निर्माण टिमसँग कुनै गुनासो छैन ।’
आफ्ना धेरैजसो फिल्ममा छोटो र अर्थपूर्ण क्यारेक्टर हुने गरेको उनी बताउँछिन् । फिल्म टिमवर्क भएको भन्दै सबैले राम्रो काम गरे मात्रै फिल्म समग्रमा राम्रो हुने वर्षा बताउँछिन् । ‘ऐंचो पैंचो’मा सबै कलाकारको उत्तिकै इफोर्ट रहेकाले राम्रो फिल्म बनेको उनको दाबी छ ।
कृषा चौलागाई निर्देशित ‘ऐंचो पैंचो’ टिम प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । निर्देशक कृषाका अनुसार ‘ऐंचो पैंचो’ पारिवारिक सामाजिक विषयमा केन्द्रित फिल्म हो । यसमा समाजमा हुने राजनीति पनि छ । युवामा राजनीतिले पारेको प्रभाव र असर पनि छ । तर, फिल्म राजनीतिमा मात्रै केन्द्रित नभएको उनले बताउँदै आएकी छन् ।
गीत, टिजर, ट्रेलरबाट दर्शकले पाएको माया जस्तै हलमा सिनेमाले पनि माया पाउनेमा निर्माण टिम ढुक्क छ । सिनेमाको गीत ‘काले केटाले’ धेरै टिकटक बनाइएको गीत हो । यसका कारण पनि सिनेमा सफल हुनेमा निर्देशक कृषा ढुक्क छिन् ।
यसमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सिनेमाको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।
यसमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माता रहेका छन् ।