योगमायामाथि वृतचित्र निर्माण हुँदै

देश। महिला साधक ‘योगमाया’को जीवनमा आधारित वृतचित्र योगमाया निर्माण हुने भएको छ । काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरिएको वृतचित्रलाई भीमादेवी मल्टी क्रियशन प्रा.लि. र आरम्भ नेपालले संयुक्त रुपमा निर्माण गर्ने भएको छ । कलाकारहरु सन्देश बसौला, नुभिषा उप्रेती, राजकुमार, बासुदेब खनाल, रुद्र गुर्माछान मगर, सरिता राजोपाध्याय, मिश्री थापालगायतका कलाकारहरु चयन भएका छन्।

कार्यक्रममा नुभिव फाउन्डेसनको समेत घोषणा गरियो । निर्देशक भिमा मैनालीको दिवँगत छोरा कलाकार नुभिव उप्रेतीको जन्म जयन्तीको अवसर पारेर फाउन्डेसनको घोषणा गरिएको हो । मानव शास्त्रीय अनुसन्धानमा आधारित योगमायालाई शुरुमा वृतचित्र र त्यसपछि चलचित्रको रुपमा निर्माण गरिने अनुसन्धानकर्ता तथा निर्देशक मैनालीले कार्यक्रममा जानकारी दिईन् ।

राणा शासनको बेला स्वतन्त्रताको लागि योगमायाले बृहत सँघर्ष गरेर जलसमाधिसमेत लिएकाले यो वृतचित्र उनकै सँघर्षकथामा केन्द्रित रहने पनि निर्देशक भिमाले बताईन् । यस्तै आफ्नो किशोराबस्थाको छोरा नुभिव उप्रेतीको कलेजबाट अपहरणपश्चात हत्या भएकाले यस्तो हत्या अरुको नहोस भनेर अभियानका लागि नुभिव फाउन्डेसनको स्थापना गरिएको पनि भिमाले बताईन् । बाल कलाकारको रुपमा चर्चा कमाएका नुभिवको काठमाडौंको एक कलेजबाट अपहरण पश्चात पोखरामा हत्या भएको अबस्थामा शब भेटिएको थियो ।

योगमाया वृतचित्र घोषणा समारोहमा बोल्दै अग्रज निर्देशक यादव खरेलले भने,‘बिगत दुई दशकदेखि अभिनयमा आफ्नो छुट्टै परिचय बनाएकी भिमाले योगमायामाथि पनि यथार्थपरक चलचित्र बनाउनेमा म विश्वस्त छु ।’ त्रिभुवन विश्व विद्यालयका प्राध्यापक सुरेश ढकालले कार्यक्रममा भने,‘योगमायामाथि भिजुअल एन्थ्रोपोलोजीमा एम फिल गर्दैगरेकी भिमाले योगमायामाथि नै अनुसन्धानमुलक चलचित्र बनाउन लागेको कुराले हामी खुसी छौं । यो सार्थ फिल्म बनोस भन्ने कामना गर्दछु ।’

कमेन्ट गर्नुहोस्