संक्रमण फैलिन नदिन ‘जनता कर्फ्यु’

विदेश । केहि समय यता विश्वनै कोरोना भाइरसको संक्रमणले त्रासमा छ । केहि देशमा तिब्र रुपमा फैलिरहेको कोभिड १९ लाई फैलिन नपाएको देशमा उच्च सतर्कता अपनाइएको छ । नेपालमा यसको जोखिम उच्च रहेको कारण गत बिहिबार देखि सतर्कता बढाईएको छ । नेपालमा सतर्कता बढाईए पनि छ्मेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसले गर्दा नेपाल र भरातको सिमाना जोडिएका नाकामा कडाइ गरिएको छ ।

भारतले पनि आफ्नो देशमा संक्रमण बढ्न नदिन आउँदो मार्च २२ मा आइतबार १४ घण्टा ‘जनता कर्फ्यु’ घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै त्यस दिन बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्किएर जनता कर्फ्यु पालना गर्न आग्रह गरेका छन् ।

भारतले संक्रमण फैलिन नदिन आइतबार (२२ मार्च) देखि एक सातासम्म सबै नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । भारतभर विभिन्न रुटमा चल्ने १ सय ६८ रेलको सेवा ३१ मार्चसम्म बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडान र रेल सेवा बन्द गरिएपछि भारतका विभिन्न सहरबाट घर फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।

भारतको नयाँ निर्णयका कारण काठमाडौंबाट नयाँदिल्ली, नयाँदिल्ली, बनारस, बैंग्लोर र मुम्बईमा हुँदै आएका उडान बन्द हुनेछन् । यी गन्तव्यमा नेपाल वायुसेवा निगम, बुद्ध एयर, इन्डिगो, एयर इन्डिया र विस्ताराले उडान गर्दै आएका थिए । विस्ताराले मार्च २१ देखि ३१ सम्म उडान बन्द गर्ने घोषणा यसअघि नै गरिसकेको छ । अब नेपालीले भारत हुँदै तेस्रो मुलुक उड्न पनि पाउने छैनन् ।

भारतमा बिहीबार साँझसम्म कोभिड–१९ बाट १ सय ७३ जना संक्रमित भएका छन् । चार जनाको ज्यान गइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये २५ जना विदेशी छन् । १८ राज्यमा संक्रमित देखिएका छन् । सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा छन् । त्यहाँ ४२ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार मात्र भारतभर कोभिड–१९ का १८ जना नयाँ बिरामी पुष्टि भएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्