‘ताबलिगी जमात’ : १ लाख सहभागीमध्ये १५४ मा कोरोना संक्रमण

विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १२ लाख २ हजार नाघेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा उल्लेख छ ।

विश्वभर महामारीको रुपमा फैलिएको यो भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पनि ६४ हजार सात सय ५३ पुगेको छ । यसैले गर्दा पनि विश्वका अधिकांस देशले लकडाउन गर्दै यो भाइरस संक्रमण फैलिनबाट आफ्नो देशमा रोक्ने प्रयास गरिरहेका छन् । तर , यस्तै अवस्थाका बीच पछिल्लो समय पाकिस्तानमा भएको धार्मिक सभाबाट तीव्र गतिमा कोरोना भाइरस फैलिएको आशंका गरिएको छ ।

पाकिस्तानको लाहोरमा मार्च १० देखि १२ सम्म ताबलिगी जमातको भेला भएको थियो । भेलामा एक लाख मानिसहरु सहभागी भएको पाइएको बताइएको छ । जस मध्य १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २ जनाको मृत्यु पनि भईसकेको छ । यतिबेला उक्त भेला पाकिस्तान सरकारको लागि पनि टाउको दुखाइ बनेको छ । साउथ चाइना मर्निङ पोष्टकाअनुसार पाकिस्तान सरकारले कोरोना भाइरस फैलिन सक्ने भन्दै भेला रद्द गर्न आयोजकलाई आग्रह गरेको थियो तर, आयोजकले रद्द गरेनन् ।

गत महिना मार्चमा भएको ताबलिगी जमातमा भेलामा सहभागी भएका एक हजार पाँच सय विदेशीसहित दुई हजार पाँच सय सहभागी भेला भएको क्षेत्रमा यथावत छन् । भेलामा सहभागी भएका धेरै विदेशी भाइरसको परीक्षणविना नै मुलुक छाडेर हिँडेका छन् । यस्तै धार्मिक भेला मलेसिया र भारतमा पनि भएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्