फिल्म । काठमाडौंमा जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण सम्पन्न भएको छ । महोत्सवमा नेपाल पानारोमातर्फ दिपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’, डकुमेन्ट्री विधातर्फ अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’, अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’, अन्तर्राष्ट्रिय नन–फिक्सनतर्फ फिनल्यान्डका निर्देशका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस अफ द अर्थ’ विजेता घोषित भए । विजयी फिल्मले अवार्डसहित जनही ५० हजार रुपैयाँ जिते ।
महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिंग भिलेजेज एण्ड डेथ्स् अन एक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा, टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मनको फिल्ममेकर सेन्गिज अकेगनका ‘आयसा’ र अमेरिकी फिल्ममेकर किरा डेन तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशन बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड जित्न सफल रहे । उत्कृष्ट घोषित फिल्मलाई राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले पुरस्कार वितरण गरे । मानवअधिकार केन्द्रको आयोजनामा भएको महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन गरियो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित नेपाल पर्यटन बोर्ड र रिपोर्टस् क्लबको हलमा फिल्महरु प्रदर्शन गरिएको थियो । महोत्सव पुस ३ देखि ६ सम्म चलेको थियो ।










