‘वरिष्ठ बलराम’ : स्थापित र उदाउँदो व्यक्तिबीचको टकरावको कथा

फिल्म । अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘वरिष्ठ बलराम’ लाई स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथावस्तुमा आधारित भएको बताएका छन् । यो फिल्ममा दयाहाङले स्थापित पात्रको भूमिका निभाएका छन् भने विजय बरालले उनलाई टक्कर दिँदै वरिष्ठ बन्न खोज्ने उदाउँदो पात्रको चरित्रमा अभिनय गरेका छन् ।

दयाहाङले समाजमा हरेक व्यक्तिमा बाहिरी आवरणमा वरिष्ठ र प्रतिष्ठित देखिने चाहना हुने बताए । ‘मान्छे जस्तोसुकै होस्, समाजमा वरिष्ठ र प्रतिष्ठित देखिन चाहन्छ, यो मानवीय स्वभाव हो’, उनले भने, ‘यो फिल्ममा मेरो चरित्रले पनि यही भाव बोकेको छ।’

उनले आफ्नो चरित्रलाई टक्कर दिँदै अर्को पात्रले वरिष्ठ बन्ने लोभमा गरेको संघर्ष फिल्मको मुख्य कथावस्तु भएको खुलासा गरे । अभिनेता विजय बरालले ‘वरिष्ठ बलराम’ लाई सामान्य व्यक्तिबाट वरिष्ठ बन्ने चाहना र सोचबीचको टकरावको कथा भएको बताए । ‘सिनेमाको नाममा कसको नाम बलराम हो भन्ने ट्रेलर वा रिलिजपछि थाहा होला’, उनले भने, ‘तर मलाई बले भनेर बोलाइएको छ।’

उनले सिनियर अभिनेता दयाहाङसँगको टकरावको दृश्यमा काम गर्न चुनौतीपूर्ण भए पनि दयाहाङको मार्गदर्शनले सहज भएको अनुभव सुनाए । ‘अग्रजप्रति सम्मान भएकाले सुरुमा अड लाग्यो, तर दाइले चरित्रमा अभिनय गर्न प्रोत्साहन गर्नुभयो’, विजयले भने । दयाहाङले भने सेटमा व्यक्ति नभएर चरित्र महत्त्वपूर्ण हुने बताए । उनले ‘दासढुंगा’ मा अनुप बरालसँग काम गरेको अनुभव स्मरण गर्दै चरित्रमा हिचकिचाउन नहुने बताए । ‘चरित्रभन्दा माथि जानु हुँदैन, भँडास पोख्ने मौका पनि यही हो’, उनले भने ।

नायिका समृद्धि अर्यालले आफ्नो भूमिका शोभनीय मात्र नभएर प्रभावशाली भएको दाबी गरिन् । ‘दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने मेरो भूमिका छ’, उनले भनिन्, ‘यो चरित्रले मेरो सिने करियरमा महत्त्वपूर्ण योगदान गर्नेछ ।’

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ । निर्देशक पौडेलको कथा र सम्पादनमा बनेको यो फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्मसको सहकार्यमा निर्मित यो फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् । मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको यो फिल्म काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्