फिल्म । युट्युबमा सार्वजनिक फिल्म ‘पीआर’को गीत ‘टाटा बाइ बाइ’ दर्शकमाझ निकै लोकप्रिय बनेको छ । युट्युब र टिकटक दुवैमा दर्शकले यस गीतलाई रुचाएका छन् । हाल टिकटकका धेरै भिडियोहरूमा यो गीतका शब्दहरू प्रयोग गरी भिडियो निर्माण भइरहेको छ । गीत टिकटकमा हिट बनेपछि निर्माण टिम उत्साहित देखिएको छ । फिल्मका निर्देशक शोभित बस्नेत सामाजिक सञ्जालमार्फत आफ्ना फिल्मको गीतले पाएको चर्चाबाट निकै खुसी भएको बताएका छन् ।
गत आइतबार सलोमा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले युट्युबमा पनि राम्रो भ्युज हासिल गरेको छ । गीतले हालसम्म दुई हजारभन्दा बढी लाइक पाएको छ भने अधिकांश कमेन्टकर्ताले यसको प्रशंसा गरेका छन् । गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य देख्न सकिन्छ, जसप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । गीतमा भीम बी.सी.को संगीत रहेको छ भने स्वर टेक बी.सी. र प्रीति घिमिरेले दिएका छन् । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। साथै, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की रहेका छन् ।
निर्देशक बस्नेतका अनुसार, ‘पीआर’ फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ । विदेशमा रहेका सन्तान र नेपालमा रहेका अभिभावकबीचको सम्बन्ध, दूरी र अपेक्षालाई फिल्मले चित्रण गरेको निर्माण पक्षको भनाइ छ ।
फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन् । बन्दे प्रसादको सम्पादन र गणेश बुढाथोकीको लेखन रहेको यस फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् । फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ । ‘पीआर’ फिल्म आगामी मंसिर २६ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ ।










