फिल्म । नेपाली खेलाडीको विषयमा फिल्म बन्नु पर्नेमा निर्देशक मिलन चाम्सले जोड दिएका छन् । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ द्वारा आयोजित पत्रकार सम्मेलनमा निर्देशक चाम्सले अञ्जिलाको कथा प्रेरणादायी रहेकाले आफू निर्देशन गर्न तयार भएको बताएका छन् ।
उनले भने,‘खेलाडीको जीवनीलाई पर्दामा ल्याउने आट गर्ने निर्मातालाई धन्यवाद । उहाँहरू अञ्जिलाको घर बनाउने उदेश्यसहित फिल्म निर्माण गर्नुभएको छ । यस्तै कारणले मलाई यो फिल्मसँग जोड्न मदत गर्यो । यो फिल्मले नेपालका खेलाडीको सङ्घर्ष र मेहनतलाई पर्दामार्फत आम दर्शक माँझ ल्याउने छ । यो फिल्मले नेपाली महिला खेलकुदको महत्त्व र सम्भावनालाई विश्वसामु पुर्याउनेछ । प्रतिभाशाली युवाहरूलाई थप उचाइमा पुर्याउन यो फिल्मले ठूलो भूमिका खेल्नेछ ।’
युरोपियन राष्ट्र ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउबाट खेल्ने भएपछि खेलाडी सुब्बाकै जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘अञ्जिला’ समूहद्वारा एक कार्यक्रमको आयोजना गर्दै बिदाइ गरिएको थियो ।
फिल्म ‘अञ्जिला’ कप्तान एञ्जिला सुब्बाको जीवन सङ्घर्ष र सफलतामा आधारित छ । यसमा अञ्जिला आफैँ प्रमुख भूमिकामा देखिएकी छिन् । उनले सम्भव भएका नेपाल बाहिरको देशमा प्रिमियरमा सहभागी हुने बताइन ।
फिल्ममा अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङ छन् । यसका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।