‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ टिकटकमा रुचाइँदै

फिल्म । ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ बोलको गीत पछिल्लो समय टिकटकमा निकै चर्चामा छ। यो गीत टिकटक प्रयोगकर्तामाझ अत्यधिक रुचाइएको छ । हालसम्म यस गीतमा आधारित करिब २६ हजार भिडियो बनिसकेका छन् भने ती भिडियोले लाखौँ भ्युज पाएका छन्।

उक्त बोल आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रमिताको पिरती’मा समावेश गीत ‘तिमी भए काफी’को एक अंश हो । गायक समीर श्रेष्ठको स्वर रहेको गीतमा सास्वतको संगीत छ । गीतको भिडियोको छायांकन (डीओपी) झोलेले गरेका हुन् । अहिले यो गीत सामाजिक सञ्जालमा रील्स, टिकटक र स्टोरीमा व्यापक रूपमा प्रयोग भइरहेको छ ।

‘ब्रेकअप स्टोरी’ भनिएको फिल्म ‘रमिताको पिरती’को शीर्ष भूमिकामा आना शर्मा छिन् । फिल्ममा प्रेम सम्बन्ध टुंगिएपछि पात्रले गर्ने यात्राको कथा प्रस्तुत गरिएको छ । रोमान्टिक गीत ‘तिमी भए काफी’मा आना शर्मासँगै गायक समीर श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा यी दुई पात्र ट्राभलको क्रममा भेट भएको प्रसंग देखाइएको छ ।

थाइल्याण्डका रमणीय लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा आना र समीर रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । भिडियोमा दुवै कलाकारबीचको सामिप्यतालाई आकर्षक ढंगले चित्रण गरिएको छ । गीतको कोरियोग्राफी र सिनेमाटोग्राफीले पनि दर्शकको ध्यान खिचिरहेको छ । सुदिप्ताको निर्देशनमा बनेको यस फिल्मका निर्माता सागर लम्साल हुन्। फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना र थिन्ले लामो लगायतका कलाकारको अभिनय रहेको छ।

सुदिप्ताकै लेखनमा तयार भएको फिल्ममा शिशिर विशंखेको छायांकन, सुनिल सिवाकोटीको सम्पादन र कृतिका बरालको कोरियोग्राफी छ। फिल्मका कार्यकारी निर्माता आना शर्मा र सन्तोष लम्साल हुन् भने आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताका रूपमा रहेका छन्। फिल्मको संगीतमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको योगदान रहेको छ ।

कमेन्ट गर्नुहोस्