फिल्म । पुराना कलाकार दीपक क्षेत्री आफ्नो घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् । ५८ वर्षका उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । उनको ५८ बर्षको उमेरमा निधन भएको हो । उनको घरमै सुतिरहेको अवस्थामा निधन भएको वुझिएको छ । उनको शवलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
शुक्रबार बेलुकी एक फिल्मको लागि डबिङ गरेपछि दीपक आफ्नै निवास डिल्लिबजारमा गएर सुतेका थिए । शनिबार बिहानसम्म पनि ढोका नखुलेपछि उनका छोराले प्रहरी बोलाएका थिए । प्रहरीले ढोका फोडेर हेर्दा उनको निधन भैसकेको थियो । क्षेत्री लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित पनि थिए । उनको गतबर्ष मात्र स्वर नलीको शल्यक्रिया पनि गरिएको थियो । क्षेत्रीले अभिनय गरेको पछिल्लो फिल्म ‘छ माया छपक्कै’ असोज २४ गते रिलिज भएको थियो ।
श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) छोरीसँग मलेशियामा भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने जानकारी प्राप्त छ । दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र कलाकारका रुपमा अभिनय गरेका कलाकार दीपक क्षेत्रीले सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले ‘जीवनदान’, ‘सिमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका फिल्ममा अभिनय गरेका छन् ।










