‘महापुरुष’ले चार सातामा कमायो १० करोड ग्रस

फिल्म । पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश करोड बढीको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मले चौथो सातामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन् । पाचौँ सातामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ‘महापुरूष’ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले पहिलोसाता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो साता २ करोड ८३ लाख २७ हजार, तेस्रो साता १ करोड ४२ लाख र चौथो साता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो ।

‘हामीले पाएको शो हाउसफुल नै भइरहेका छन् । पाचौँ सातामा पाएको शोले नै फिल्मको सफलता दर्साउछ’, निर्माता खत्रीले भने,’फिल्मले नेपालसँगै अमेरिकामा गरेको व्यापार आफैँमा रेकर्ड बन्दैछ । त्यहाँ तीन सय शो हुँदैछ ।’ आयोजित पत्रकार सम्मेलनमा लेखकसँगै निर्देशक समेत रहेका प्रदीप भट्टराईले फिल्म निर्माणको उदेश्य व्यक्त भावनालाई भन्नु रहेको बताए । ‘हामीले यसले रेकर्ड बनाउला वा यति व्यापार गर्ला भन्ने सोचेर नभई हाम्रो समाजको समस्यालाई भन्नुपर्छ भन्ने लगेर नै बनाएका हौँ । यसले गरेको व्यापारले हामीलाई हाम्रै कथा भन्न झनै प्रोत्साहन मिलेको छ’, निर्देशक भट्टराईले भने ।

जात्रा मार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले शत्रु गते, जात्रै जात्रा र महापुरूष गरेर लगातारा चार फिल्म ब्लकबष्टर दिईसके । धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू फिल्मले भन्ने उनले बताए । स्वदेश मात्र नभई विदेशमा समेत फिल्मले राम्रो दर्शक पाइरहेको कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए । उनका अनुसार फिल्मले अमेरिकाको डलासमा ५१ औँ दिन पार गर्न सक्छ ।

‘नेपालसँगै अमेरिका, क्यानाडा, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको छ । त्यहाँ नेपाल झैँ बक्सअफिसमा टिकेट काटेर फिल्म हेर्न सकिन्छ’, कार्यकारी निर्माता बानियाँले भने । फिल्म नोभेम्बर २० देखि युरोपका विभिन्न सहरहरूमा प्रदर्शन भइरहेको छ मध्यपूर्वी देशहरू अन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदैछ ।मिडल इस्टका देशहरूमा प्रदर्शनको अधिकार लिएका निप फिल्म्सका संचालक रमेश ढकालले भक्स, नोभा, स्टार, रोयल, ओस्कार, सिनेको, सिनेपोलिस लगायतका सिनेमाजहरूमा फिल्म ‘महापुरूष’ प्रदर्शन हुने जानकारी दिए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

कमेन्ट गर्नुहोस्