फिल्म । प्राय फिल्मको फस्टलुक आकर्षणका लागि सार्वजनिक गर्ने गरिन्छ । पछिल्लो समय प्रदर्शन मिति घोषणा गर्न पनि यसको प्रयोग गर्ने गरिएको छ । तर, बिहिबार सार्वजनिक फिल्म ‘सतीदेवी’ को फस्टलुकमा कन्टेन समेटिएको छ । अर्थात् फिल्मको कथासार र शिर्ष भूमिका निर्वाह गरेकी मलिका महतको पात्रको बारेमा बुझाउने किसिमले यसको फस्टलुक सार्वजनिक गरिएको छ ।
लामो समय रङ्ग पत्रकारितापछि फिल्म निर्देशन तथा निर्माणमा सक्रिय लक्ष्मण सुवेदीद्वारा निर्देशित नयाँ फिल्म ‘सतीदेवी’ माअभिनेत्री महतलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेका छन् । गाउँको परिवेशलाई पृष्ठभूमिमा राखिएको पोस्टरले फिल्म महिला केन्द्रित रहेको बुझाउँछ ।
पोस्टरमा मलिका रातो रंगको कुर्था सुरुवालमा प्रस्तुत छिन् । रातो विद्रोहको रंग हो । निर्देशक सुवेदीले पनि फिल्ममा मलिकालाई विद्रोही स्वभावमा प्रस्तुत गरेको हुनसक्ने पोस्टरबाट आँकलन गर्न सकिन्छ ।
निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको फिल्ममा श्रीदेवी सुवेदी निर्माताको रुपमा छिन् । फिल्ममा मलिकाका साथै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको अभिनय रहेको छ । फिल्मको कथा भने मलिकामाथि केन्द्रित छ ।
बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुभाष भुषालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सम्राट थापाको पार्श्व संगीत रहेको ‘सतीदेवी’मा दिलासा र साराको प्रस्तुति छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियशनले संयुक्त रुपमा निर्माण गरेको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।












