केकीले किन गरिन् ‘अञ्जिला’ हेर्न आग्रह ?

फिल्म । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाकको जीवनीमा आधारित रहेर तयार गरिएको नेपाली फिल्म ‘अञ्जिला’ को नेपाल प्रिमियर हेरेपछि अभिनेत्री केकी अधिकारीले निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठसहित निर्माण समूहलाई धन्यवाद दिदै दर्शकलाई फिल्म हेर्न आग्रह गरेकी छिन् । उनले महिला कप्तानको सङ्घर्षशिल जीवनले उर्जा थप्नुका साथै लक्ष्यमा इमान्दार भएर लाग्न प्रेरित गर्ने बताएकी छिन् ।

‘यो आफैँमा गाह्रो विधा हो, यसमा फिल्म बनाउनु र त्यसलाई व्यावसायिक रुपमा तयार गर्नु चुनौती हो । यो फिल्म हेरिरहदा हामीले हाम्रो महिला कप्तान सुब्बाको जीवनलाई नजिकबाट देख्न र बुझ्न सक्छौँ । इलामबाट यहाँसम्म आइपुग्नु सानो उपलब्धी होइन, उनको जीवनले हामी जस्ता धेरैलाई प्रेरणा दिन्छ’, केकीले भनिन् ।

उनले फिल्मले कप्तान सुब्बालाई राम्रोसँग प्रस्तुत गरेको भन्दै तारिफ गरिन् । हङकङ, बेलायत र दक्षिण कोरियापछि नेपालमा सोमबार साँझ गरिएको प्रिमियरमा फिल्मकर्मी र खेलकुदसँग जोडिएका खेलाडी र अन्य पदाधिकारीको उपस्थिति रहेको थियो । खेलाडीको विषय फिल्ममार्फत आम मानिससम्म पुग्नु खुसीको खबर रहेको बताउदै निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठ लगायतलाई निम्तालुले बधाई दिए ।

फिल्ममा कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता कथा देखाईएको निर्देशक चाम्सले बताए । ‘खेलाडीको विषयमा फिल्म तयार गर्नु चुनौती पूर्ण विषय थियो, सम्पूर्ण टीमको सहयोगले पुरा गरें । यो एउटा फुटवल खेलाडी र कप्तान सुब्बाको लागि डिजिटल दस्तावेज पनि हुनेछ’, उनले भने । फिल्मका कलाकार समेत रहेका अभिनेता दयाहाङ राईले आफूले वर्षौपछि सम्झिने फिल्म ‘अञ्जिला’ बनेको बताए । ‘

कप्तान सुब्बाका धर्मपिता तथा फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई अगाडि बढ्न फिल्मले प्रेरणा दिन्छ बताए । फिल्ममा सुनिल थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्म यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्