फिल्म । अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आइतबार आयोजित फिल्म ‘महापुरूष’ को प्रिमियर शो हेरेपछि प्रसंशा गरे । उनले निर्देशक प्रदीप भट्टराईको हिट फिल्मको यात्रा जारी रहेको बताए । उनले फिल्म हेरेर दिनुपर्ने प्रतिक्रिया आफ्नो मुहारमा देखिएको बताए । ‘हरि दाइको धेरै समय पश्चात यस किसिमको भूमिका हेर्न पाएँ । मदन दाइको पनि उस्तै सशक्त भूमिका छ । निर्देशक प्रदीपले कथा राम्रो रोज्नु भयो । त्यसको स्क्रिन झन् सशक्त बनाउनु भएको छ’, निर्देशक बस्नेतले भने । उनले यस्तो राम्रो फिल्म निर्माण गरेर दिएकोमा निर्माण पक्षको तारिफ गर्दै धन्यवाद समेत दिए ।
उनले आफ्नो ड्याडीले फिल्म हेर्न चाहेको चाहना समेत सुनाए । ‘मेरो फिल्म हेरौँ नभन्द हेरौला नी भन्नुहुन्छ । तर महापुरूष ट्रेलर हेरेर नै हेर्छु भन्नुभएको छ । यसले पनि फिल्म प्रतिको आकर्षणलाई बुझाउँछ’, उनले भने । सँगै रहेकी अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको सम्पूर्ण पक्ष मन परेको बताइन । ‘फिल्ममा यो, त्यो भन्दा नी पुरै फिल्म नै राम्रो बनेको छ । सबैको कास्टिङ पर्फेक्ट छ । फिल्म हेर्दा मात्र नभई बाहिर निस्किदासम्म पनि फिल्म हामीसँगै रहन्छ’, अभिनेत्री खड्काले भनिन् । उनले नयाँ अनुहारहरू अरुण क्षेत्री र अन्जना बराईलीले निकै राम्रो काम गरेको भन्दै प्रसंसा गरिन् ।
‘अरुणसँग त मैले काम समेत गरेको छु । उनको बारेमा निकै बलियो कलाकार हो भनेर प्रसंसा गर्दै आएकी थिएँ । फिल्ममा उनले आफूलाई प्रमाणित गरेका छन् । अन्जना पनि बलियो सम्भावना बोकेकी कलाकार हुन्’, उनले भनिन् । निर्देशक बस्नेतले फिल्म मात्र नभई यसले आफ्नो अभिभावक प्रतिको कर्तव्य सम्झाउने समेत बताए । सामाजिक विषयवस्तुमा आधारित ड्रामा फिल्म ‘महापुरूष’ मा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।
फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।











