बोबी सिक्वेलमा उमेशको संघर्षको कथा

फिल्म । गत असारमा रिलिज भएको फिल्म हो ‘बोबी’ । रियल स्टोरी र रियल जोडीको फिल्म भनिएको यसलाई मिलन चाम्सले निर्देशन गरेका थिए भने रियल जोडी उमेश थापा र कविता गुरुङको प्रेम कथालाई पटकथा बनाउने काम सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए । फिल्मलाई प्रचारप्रसार सामग्री र वर्ड अफ माउथले सफल बनाउन मदत गर्यो । प्रेम प्राप्तिको लागि गरिएको संघर्ष , त्याग र त्यसपछीको सफलतालाई दर्शकले रिलेट गरे ।‘वर्ड अफ माउथ’ को कारण फिल्म सफल भयो । तर फिल्म हेर्दा धेरैलाई कथा अधुरो लाग्न सक्छ , यसैलाई पुरा गर्न राजधानीमा एक कार्यक्रमको बीच फिल्मको सिक्वेल घोषणा गरिएको छ । मिलन चाम्सको निर्देशन यसको सिक्वेल ‘बोबी २ : बाँकी कथा’ बन्ने भएको छ । आउदो चैत्रको दोस्रो साताबाट फिल्मको छायाँकन नर्वेबाट सुरु हुनेछ ।

फिल्ममा विशेष त उमेशले सफलता पाउन गरेको संघर्षलाई देखाइनेछ । कविताले पनि उमेशको संघर्षले धेरैलाई प्रेरणा मिल्ने बताइन । ‘उमेशलाई मलाइ भेट्नु भन्दा अगाडी गरेको संघर्षले मलाइ पनि प्रेरणा मिल्छ अनि मलाइ विवाह गरिसकेपछि पनि उहाले नर्वे गएर धेरै संघर्ष गरेका छन्’ कविताले अबको कथाले झनै प्रेरणा मिल्ने बताइन । त्यसो त उमेश किताब लेख्ने सोचमा पनि थिए तर उनको बाँकी कथा भने फिल्ममा नै आउने भएको छ । ‘हामीलाई जसरि दर्शकले माया गर्नु भएको छ , धेरैले बाँकी कथाको बारेमा सोध्नु हुन्छ त्यसैले हामीले सिक्वेल बनाउने घोषणा गर्दैछौ’ उमेशले फिल्मको घोषणा गर्नु कारण बताए ।

भर्खरै फिल्म ‘वीर विक्रम २’ को छायाँकन सकाएर काठमाण्डु फर्किएका मिलनले फिल्मको कथाले धेरैलाई संघर्षमा उर्जा थप्ने बताए । ‘एउटा नेपालीले नर्वेमा पुगेर त्यहाँ पाएको सफलता विना संघर्ष हुनै सक्दैन’ मिलन थप्छन ‘उमेशको संघर्षले धेरैलाई प्रेरणा मिल्छ अनि उसको स्ट्रगल फिल्मी छ ।’ यसैगरी अब कथालाई पटकथाको रुप दिने सञ्चारकर्मी नरेश भट्टराईले बताए । ‘बोबी’ को पटकथा समेत लेखेका नरेशले सिक्वेलले आफुलाई अवसर र चुनौती दुवै दिएको बताए । ‘पहिला धेरैलाई आश थिएन तर अब बोबी मन पराउने दर्शकले यसको प्रतिक्षा गरिरहेका छन्’ उनले भने ‘फिल्मले प्रेरित मात्र गर्दैन दर्शकको मन पनि छुन्छ ।’ फिल्ममा सुदिप बरालको छायाँकन र बनिश शाहको सम्पादन रहेनछ ।

कमेन्ट गर्नुहोस्