कमेन्ट गर्नुहोस्
यसकारण सर्यो ‘कबड्डी कबड्डी कबड्डी’

फिल्म । यस वर्ष प्रदर्शनमा आएको पहिलो नेपाली फिल्म ‘दाल भात तरकारी’ ले रिलिज देट सारेको थियो । हलिउडकै ठुलो फिल्म एभेन्जर्सको ‘इन्ड गेम’ आउने भएपछी वितरकको दबाबमा फिल्म एक हप्ता सरेको थियो । त्यसपछि पछिल्लो समय साउथ इण्डियाको फिल्म ‘साहो’ ले नेपाली फिल्मको क्यालेन्डर नै विगारीरहेको छ ।
साहोले पहिलो डेट अगस्ट १५ लाई घोषणा गरेपछि उक्त समयमा प्रदर्शनमा आउने भनिएको फिल्म ‘हजार जुनीसम्म’ ले पनि वितरककै अनुसार रिलिज डेट हेरफेर गरेको थियो । यतिबेला ‘साहो’ अगस्ट ३० मा पुगेपछि उक्त मितिमा रहेको कबड्डीको तेस्रो सिरिजले डेट सार्न बाध्य भएको छ ।
‘कबड्डी कबड्डी कबड्डी’ आश गरिएको फिल्म भएता पनि वितरकको दबाब र ‘साहो’ को बढ्दो लोकप्रियताको कारण डेट सर्न बाध्य भएको छ । रामबाबु गुरुङ निर्देशित मल्टीस्टारर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ भाद्र १३ गते आउने निश्चित भएता पनि अब हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ ले छाडेको मिति असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । राम्रो व्यापार गर्ने सिरिजको रुपमा कबड्डी कबड्डी कबड्डीलाई हेरिए पनि वितरक मनोज राठीले हल उपलब्ध गराउन नसक्ने भनेपछि यतिबेला डेट हेरफेर गर्न बाध्य भएका छन् , सिनेमा आर्ट समुह ।
स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित भएर बनेको फिल्ममा अभिनेता दयाहाङ राई प्रमुख भूमिकामा छन् । उनको अपोजिटमा अभिनेत्री उपासना सिंह ठकुरी छिन् । यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।
बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । फिल्ममा कर्मा, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, लुनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । यसको सम्पादन निमेश श्रेष्ठले गरिरहेका छन् ।






