फिल्म । अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा सहभागिता जनाउन नेपालबाट प्रतिनिधिमण्डल थाइल्यान्ड पुगेको छ। विश्वभरका उत्कृष्ट नर्तक, प्रशिक्षक तथा कोरियोग्राफरहरूको सहभागिता रहने प्रतियोगितामा यसपटक नेपालबाट तीन टोलीले प्रतिस्पर्धा गर्दैछन्।
ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएका टोलीहरूले थाइल्यान्डमा नेपालको प्रतिनिधित्व गरिरहेका छन्। प्रतियोगितामा टिम डिभिजन विजेता ‘टिम एनटी’, रनरअप ‘दि इननेट सोल’ तथा जुनियर टिम डिभिजन विजेता ‘एनडिए जुनियर’ ले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन बुधबार साँझ हुँदैछ।
यस प्रतियोगितामा अभिनेत्री परीक्षा लिम्बुको विशेष उपस्थिति रहेको छ भने नेपालका चर्चित नृत्य निर्देशक तथा कोरियोग्राफर जेडी तमू निर्णायकको भूमिकामा रहेका छन्। उनले विश्वका विभिन्न देशका प्रतिष्ठित निर्णायकहरूसँगै प्रतियोगीहरूको मूल्यांकन गर्नेछन्।
रोशन गहतराजका अनुसार यति ठूलो अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपालबाट पहिलोपटक यस स्तरमा निर्णायक चयन हुनु नेपाली नृत्य क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हो। यस वर्षको प्रतियोगितामा विश्वप्रसिद्ध नृत्यांगना तथा कोरियोग्राफर काया पियर्स पनि निर्णायकका रूपमा सहभागी रहेकी छन्। न्यूजिल्यान्डकी पियर्स अमेरिकी पप स्टार जस्टिन बिबरको चर्चित गीत ‘सरी’ को म्युजिक भिडियोको कोरियोग्राफीका लागि परिचित छिन्।
प्रतियोगितामा विश्वभरबाट सयौँ नर्तक तथा नृत्य टोलीहरूको सहभागिता रहनेछ। विभिन्न विधाका नृत्य प्रस्तुति, प्रतिस्पर्धात्मक प्रदर्शन तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट यो प्रतियोगिता अन्तर्राष्ट्रिय नृत्य समुदायको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।
नेपाली टोलीहरूको सहभागिताले अन्तर्राष्ट्रिय नृत्य मञ्चमा नेपालको उपस्थिति थप सशक्त बनाउने विश्वास गरिएको छ। पछिल्ला वर्षहरूमा नेपाली नर्तक तथा नृत्य समूहहरूले विश्वस्तरीय प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्दै आएका छन्, जसले नेपाली नृत्य प्रतिभालाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।









