‘बलिदान’मा जोडिए सुजन

फिल्म । सन्तोष सेनको निर्देशनमा तयार हुने फिल्म ‘बलिदान’ मा संगीतकार सुजन चापागाईं जोडिएका छन् । उनीसँगै आर्टमान्डुका सदस्य गीतार हर्क साउद र म्युजिक भिडियो निर्देशक नवीन चौहानले फिल्मको गीतसङ्गीत र पार्श्व सङ्गीतमा काम गर्नेछन् ।

नेपाली फिल्ममा सम्भवतः पहिलो पटक यसरी एक टिमलाई नै सङ्गीतको जिम्मेवारी दिइएको हो । यसअघि सुजनले केही फिल्मको लागि फुटकर गीतहरूमा आवाज दिएता पनि पहिलो पटक सबै जिम्मेवारी लिएका हुन् । सुजनको ‘तीन पाते’, ‘फूलथुंगे रानी’ , ‘लजाएर’, ‘गाला पुक्क’, ‘घुमी घुमी’, ‘मिलेको जीउ छिनेको कम्मर’, ‘बाफ’ लगायतका गायक गीत चर्चित छन् ।

सुजनसहितको टिमलाई आबद्ध गराउन निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समयदेखि छलफल गरिरहेका थिए । टिमको आबद्धतासँगै हाल गीत सङ्गीतको विषयमा कार्यशाला भइरहेको छ । निर्देशक सेनले फिल्मको कथा र मर्म अनुसारका गीत उत्पादन गर्नको लागि केही दिन छलफलमा रहने जानकारी दिए । आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस फिल्ममा कलाकारहरूको विषयमा भने केही खुलासा गरिएको छैन ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म रहने निर्देशक सेनले बताएका छन् । एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश फिल्ममार्फत प्रदान गरिने निर्देशक सेनले जनाए ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस फिल्मको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।

कमेन्ट गर्नुहोस्