आईफाको अवार्डको २० औँ संस्करण नेपालमा हुँदै

13 Shares

देश । भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड)को २० औ संस्करण नेपालमा हुने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व नेपाल पर्यटन बोर्डले गर्नेछ भने काठमाडौं महानगरपालिका सहआयोजक रहनेछ । आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने वातावरण बनाउन भन्दै सरकारले गत ८ असारमा एउटा समिति समेत गठन गरिसकेको छ । बिहीबार बसेको समितिको पहिलो वैठकले आईफाका प्रतिनिधिसँग बसेर छलफल गरेर ५ दिनभित्र अवार्डको मोडालिटी टुंगो लगाउने निर्णय लिएको बुझिएको छ ।

अवार्डको कूल लागत १ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । अवार्ड समारोहमा ८० देखि १०० जना बलिउड कलाकार सहभागी हुने अनुमान गरिएको छ । उनीहरुका सहयोगी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबै गर्दा ६–७ सयको हाराहारीमा विदेशी पाहुना सहभागी हुने अनुमान छ । उनीहरुको आवतजावत, सुरक्षा तथा लजिस्टकका लागि नेपाल सरकारले सहयोग गर्नेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अवार्ड हुने लगभग तय भए पनि विविध विषय टुंगो लाग्न बाँकी रहेको बताए । उनि उच्चस्तरीय समितिका सदस्य मध्यका एक हुन् । ‘केहि महिना यता गृहकार्य गरिरहेका छौ ‘उनले भने’ मौखिक रुपमा धेरै कुराहरु टुंगेका लागेता पनि हस्ताक्षर हुन बाँकी छ ।’ नेपाली कलाकार र मिडियालाई कार्यक्रममा कसरी समान पहुँच दिने लगायतका विविध विषयमा नेपाली पक्षले आफ्ना अडान राख्ने उनले बताए । आईफा अवार्ड आयोजनाको खर्च पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका र निजी क्षेत्रले जुटाउनुपर्ने छ । भने , नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका संस्थाले सहयोग गर्ने सरकारको अपेक्षा छ ।

आईफा अवार्डको आयोजनाको लागि नेपाली सेनाको मूख्यालय अगाडिको फूटबल चौरलाई छनोट गरिएको समेत बुझिएको छ । कार्यक्रम आयोजनाका लागि आईफाले एउटा ‘डोम’ ल्याउनेछ, जसमा करिब पाँच हजार जना अटाउनेछन् । आईफा अवार्ड भारत बाहिर विभिन्न देशमा हुने गरेको छ । पहिलोपटक सन् २००० मा बेलायतमा आयोजना भएको थियो । त्यसपछि क्रमशः दक्षिण अफ्रिका, मलेसिया, दक्षिण अफ्रिका, सिंगापुर, नेदरल्याण्ड्स, यूएई, बेलायत, थाइल्याण्ड, मकाउ, श्रीलंका, क्यानडा, सिंगापुर, मकाउ, अमेरिका, मलेसिया, स्पेन र थाइल्याण्डमा आयोजना भयो ।

Facebook Comments