देश । बुद्धको जन्मस्थल लुम्बिनीमा आगामी मंसिर २४, २५ र २६ गते ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने भएको छ । विश्व शान्ति कार्यक्रमको यो तेस्रो संस्करणमा विभिन्न देशका २५ जना अर्बपतिहरू सहभागी हुन लागेका छन् । कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाले पहिलोपटक यति धेरै सङ्ख्यामा अर्बपतिहरू विश्व शान्तिजस्तो विषयमा छलफल गर्न लुम्बिनीमा भेला हुन लागेको जानकारी दिइन् ।
कार्यक्रममा कुल १० हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ । खतिवडाका अनुसार नेपाल तथा विदेशका नेता, विद्वान्, संयुक्त राष्ट्र सङ्घका सांस्कृतिक राजदूतहरू, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएका व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । साथै, लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहनेछ ।
कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमद लगायत रहेका छन् ।
तीन दिनसम्म चल्ने यस कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण (वेलबिइङ), र सामाजिक न्यायजस्ता महत्त्वपूर्ण विषयमाथि छलफल तथा बहस हुने छ । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रदर्शनी, सङ्गीत र कलात्मक अभिव्यक्तिका सत्रहरू पनि समावेश गरिने आयोजकले जनाएका छन् ।







