‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला’ सम्पन्न

देश । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घले आफ्नो स्थापना दिवसका अवसरमा बुधबार ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला–२०८०’ सम्पन्न गरेको छ । एक दिने कार्यशालामा देशभरका सांस्कृतिककर्मीको उपस्थिती रहेको थियो । महासंघलाई यो स्थानसम्म ल्याउन सहयोगी भूमिका निर्वाह गर्नेलाई सम्मान गर्दै कार्यशालाको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गर्नुभयो ।

उहाँले देशको विकासमा संस्कृतिकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै नेपालको राजनीति विकृत र विसङ्गत तरिकाले अगाडि बढिरहेकाले शुद्धीकरण गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,’मैले हिजो कलम लिएर संविधान लेखेँ । आज मेरो हातमा कुचो छ । भ्रष्ट फोहोर जहाँ भए पनि बाँकी राख्दिनँ । बढार्ने काम सुरु भइसकेको छ ।’

उहाँले नातावाद, कृपावाद, को पर्छ वा पर्दैन भन्ने र मुद्दा हाल्ने कि नहाल्ने विषयमा कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो,’यो प्रव्रिmयागत रूपमा अगाडि बढ्छ । आफू र आफ्नो मन्त्रालयबाट भ्रष्ट व्यक्तिले ओत पाइन्छ भन्ने आस नगरे हुन्छ ।’

भेला समापन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले महासंघलाई पार्टीले चिन्न र बुझ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,’हामी चुनावको समयमा मात्र महासङ्घलाई खोज्छौँ । यसको उपयोगिताबारे हामीले केही गर्न सकेका छैनौँ । कलाकारलाई चिन्ने र बुझ्ने गिरिजाबाबु हुनुहुन्थ्यो ।’

भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, प्रमोदहरि गुरागाईं, महासङ्घका अध्यक्ष तीर्थ थापालगायतले प्रशिक्षण दिनुभएको थियो । भेलामा देशभरबाट संस्कृतिकर्मीको उपस्थिति रहेको महामन्त्री शिवशङ्कर रिजालले जानकारी दिनुभयो । ‘सातै प्रदेशबाट प्रतिनिधि आउनुभएको छ । यस भेलाले महासङ्घलाई बढ्न मार्गदर्शनसमेत दिएको छ’, महामन्त्री रिजालले भन्नुभयो । उहाँले ६ महिनामा महाधिवेशन गर्ने तयारी भइरहेकोसमेत जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्