समुह विजेता बन्दै अर्जेन्टिना अन्तिम ८ मा

खेलकुद । कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरेसँगै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ४-१ गोलको नतिजामा पराजित गरेको छ । मंगलबार बिहान एरिना पन्तनालमा भएको खेलको छैठौं मिनेटमा अलेजान्ड्रो गोमेजले गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो । बोलिभियामाथि निरन्तर आक्रमण गरेको अर्जेन्टिनाका लागि ३३औं मिनेटमा पेनाल्टीमार्फत् र ४२औं मिनेटमा ओपन प्लेमा कप्तान मेसीले गोल गरेका थिए ।

पहिलो हाफमा ३-० ले पछि परेको बोलिभियाका लागि एर्विन साभेड्राले ६०औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसको पाँच मिनेट नबित्दै अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले चौथो गोल गरे । यसअघि नै अन्तिम आठमा पुगेको अर्जेन्टिना चार खेलबाट १० अंक जोडेर समूह ‘ए’ विजेता बन्यो । अर्जेन्टिनाले एक खेलमा बराबरी खेल्दा तीन खेलमा जित निकाल्यो ।

यस्तै मंगलबार बिहान नै भएको अर्को खेलमा इन्डिसन कभानीको निर्णायक गोलप्रेरित उरुग्वेले पाराग्वेलाई १-० को नतिजामा पराजित गरेको छ । कभानीले २१औं मिनेटमा पेनाल्टीमार्फत् गरेको एक मात्र गोल निर्णायक बन्यो । समूहबाट ७ अंक जोडेर उरुग्वे दोस्रो, ६ अंक जोडेको पाराग्वे तेस्रो र ५ अंक जोडेको चिली चौथो हुँदै अन्तिम आठमा पुगे । बोलिभियामा भने सबै चार खेलमा हार व्यहोर्दै बाहिरियो। जितसँगै समूह विजेता बनेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्‍वेडरको सामना गर्नेछ । त्यस्तै उरुग्वेले कोलम्बियासँग खेल्ने छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्