फिल्मफेयरमा ‘घुम्तीमा नआउ है’

संगीत । अजर अमर सांगितिक श्रष्टा प्रेमध्वज प्रधानको निधन विहिबार उपचारको क्रममा भयो । नेपाली सांगीतिक आकाशका नअस्ताउने तारा प्रेमध्वजले भौतिक शरीर त्याग गरे । केहि समय यता विरामी रहेका प्रधानको निधन ८५ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौं न्यूरो अस्पतालमा बिहिबार दिउँसो भयो । यो खबर जसरी फैलियो सामाजिक सञ्जालमा नेपाली गीत संगीत क्षेत्रको ब्रह्माण्डको एक महत्वपुर्ण पिण्डको अवशान भएको भन्दै संगीतकर्मी , सञ्चारकर्मीसंगै संगीतप्रेमीहरुले श्रद्धाञ्जली व्यक्त गर्न थाले । एक युगको प्रतिनिधिमुलक आदर्श गायक तथा संगीतकारको विदाईमा धेरैलाई अप्ठ्यारो परिरहेको थियो ।

घुम्तीमा नआउ है , पर लैजाउ फुलहरू , नमान लाज यसरि , देउरालीमा बतास , गोरेटो त्यो गाउँको , तारा मात्र होइन तिमीलाई , तिमीलाई अचेल कहाँ लगायतका सयौ कालजयी गीतका श्रष्टा प्रधानको अन्तेष्टी विहिबार साँझ पशुपतिको आर्यघाटमा गरीयो । पप , आधुनिक , पार्श्वगायनसंगै गायनका हरेक विधामा सफल मानिने गायक प्रधानलाई उनको समयमा ह्यान्डसम गायक भनेर पनि चिनिन्थ्यो ।

उनलाई फिल्मको लागि पनि अफर नभएको होइन , तर उनले आफ्नो उपस्थिति गायन र संगीतमा राखे । त्यसैबाट पहिचान बनाए र आफुलाई सांगीतिक आकाशको चम्किलो ताराको रुपमा स्थापित गर्न सफल भए । उनले भौतिक शरीर छाडेर गएपनि गीतसंगीत भने कालजयी रहिरहने छ । उनको संगीत प्रतिको मोहले नै उनलाई यो स्थानमा ल्याउन सफल भएको हो । किनकी उनले जीवनयात्रामा धेरै उतारचढाव भोगे तर गीतसंगीतबाट आफुलाई कहिले टाढा राखेनन् । त्यसैले त उनलाई अजर अमर सांगीतिक श्रष्टा भन्ने गरिन्छ ।

जिमर गायक

८५ वर्षको उमेरसम्म पनि आइपुग्दा उनि फिट थिए । अग्ला कदका गायक प्रधानको स्वर र संगीतमा जति मिठास थियो , उनकै व्यक्तित्वको पनि प्रसंशा त्यस्तै हुन्थ्यो । उनले गायन यात्रा प्रारम्भ गर्दै गर्दा जिम गर्थे । विक्रम संवत २००८ \००९ साल तिर उनले जिम गर्न सुरु गरेका हुन् । त्यसबेला विरलै नेपालमा जिम गर्न्ने प्रचलन थ्यो । उनि दुब्ला नै थिए तर आफुलाई स्वास्थ्य राख्न निकै खप्पिस । यसैले त उनले जिम गर्दै गए । उनलाई सिकाउने गुरुले पनि शरीर राम्रो छ , भन्ने गर्थे । उनले ५ वर्ष लगातार जिम गरे । केहि जिमखानाको सुरुवात पनि गरे । त्यसपछि गीतसंगीतमा व्यस्तता बढ्दै गएपछि बेलाबेलामा जिम पुग्ने गर्थे ।

२ सयमा गितार

गीतसंगीतमा आफ्नो भविष्य खोज्दै गरेका गायक प्रधान गितारमै गीत गाएर कार्यक्रम गर्ने शायद पहिलो गायक हुन् । किनकी त्यतिबेला गितारकै भरमा गीत गाउने कार्यक्रम आयोजना गर्ने थिएनन् नै भन्दा पनि फरक नपर्ला । उनलाई पनि यस्तै लाग्छ । ‘त्यो बेला मलाइ सजिलो लाग्यो गितारमा गाउन । किनकी त्यसमा धेरै समान चाहिन्थिएन । त्यसैले गितारमा कार्यक्रम गरे’ गायक प्रधानले भने । उनलाई त्यो प्रेरणा भने अमेरिकन मार्फत आएको हो । उनि एकपटक साँझ पख साथीहरुसंग डुल्न निस्किएका थिए । त्यो बेला उनले अमेरिकनले गितारमा गीत गाउँदै गरेको देखे । त्यसपछि उनले उक्त समयमा नेपाली २ सय रुपैयाँ दिएर एकजना साथी मार्फत अमेरिकाबाट गितार मगाए । ‘मलाइ गितारले आकर्षण गर्यो , त्यसैले एक साथी मार्फत अमेरिकाबाट मगाए’ उनले भने ।

भ्वाइस अफ नेपालको ट्याग

प्रेमध्वजले भारतीय प्रस्तिष्ठित भारतीय फिल्म अवार्ड ‘फिल्म फेयर’ मा उनले गीत गाएका छन् । उनि त्यहाँ गीत गाउने पहिलो नेपाली हुन् । उनले त्यहाँ गीत गएपछि उनलाई ‘भ्वाइस अफ नेपाल’ को ट्याग पनि दिइयो । फिल्म फेयरको न्युज पत्रपत्रिकामा आउँदा भ्वाइस अफ नेपाल भनेर प्रेमध्वजलाई सम्बोधन गरिएको थियो । त्यो अवसर उनि अफिसबाट बेतलबी बिदा लिएर भारत पुगेका बेला आएको हो । उनि त्यहाँ दिल्ली हेर्नु र त्यहाँको रेकर्डिङ सिस्टम बुझ्नु त्यहाँ पुगेका थिए । ‘म एक वर्ष भारतमा विताउने तयारीका साथ पुगेको थिए किनकी मलाइ भारतीय प्रसिद्ध गायकहरुसंग भेटघाट त गर्नुनै थियो साथै त्यहाँको रेकर्डिङसंगै संगीतका अन्य विधाहरुको बारेमा थप बुझ्नु थियो’ प्रेमध्वजले भने । उनले मुम्बई पुगेर जयदेव सिंहलाइ भेटेका थिए । त्यहाँ उनको चिनजान ज्ञान प्रकाशसंग भयो । पछी होटेलमा बस्न नसक्ने अवस्था भएपछी तात्कालिन अवस्थामा १ सय ५० रुपैयाँ दिएर ज्ञान प्रकाशसंग बस्न थाले । उनै ज्ञान प्रकाशले नै प्रेमध्वजलाई त्यहाँ सम्पर्क बढाए । ‘फिल्म फेयरमा मैले ज्ञानजी कै कारण पुग्ने मौका पाए । नेपालबाट आएका गायकले गीत गाउने भनेपछि अवसर पाइयो’ उनले सम्झिए । त्यो समय सन् १९७० थियो र त्यहाँ उनले पहिलो गीत प्रसिद्ध भारतीय गायक किशोर कुमारद्वारा स्वरबद्ध तुम बिन जाउ कहाँ गाए । त्यसपछि वान्स मोर भन्दै गर्दा उनले आएको हिन्दीको रिक्वेस्ट नमानेर आफ्नै गीत ‘घुम्तीमा न आउ है’ गाए ।

(टेलिभिजन कार्यक्रम मेरो एउटा साथी छ मा प्रस्तोता नरेश भट्टराईसंग गरिएको कुराकानीमा आधारित )

कमेन्ट गर्नुहोस्