‘साम्राज्य’मा दयाहाङको प्रवेश

फिल्म । निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । यसअघि अभिनेता सौगात मल्ललाई अनुबन्ध गरिसकेका सौरभले मुख्य भूमिकामा दयाहाङलाई पनि भित्र्याएका हुन् ।

दयाहाङ र सौगात नेपाली रजतपटका चर्चित जोडी हुन् । ‘लुट’बाट एकैपटक स्टार बनेका यी दुई अभिनेता एउटै फिल्ममा देखिँदा दर्शकमा उत्साह र कौतूहल बढ्ने गरेको छ । उनीहरूको प्रवेशसँगै ‘द राइज अफ साम्राज्य’ पनि प्रतीक्षित फिल्म बन्ने देखिएको छ ।

दयाहाङ र सौगातको प्रवेशसँगै फिल्मको लाइनअप बलियो बनेको निर्देशक चौधरीको भनाइ छ। सौरभले दयाहाङसँग पहिलोपटक सहकार्य गर्न लागेका हुन्। उनका अनुसार फिल्ममा दयाहाङलाई अहिलेसम्मभन्दा भिन्न चरित्रमा देख्न पाइनेछ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्म मल्टिस्टारर हुने निश्चित भएको छ। फिल्मको कथा तथा पटकथा उपन्यासकार बुद्धिसागरले लेखेका छन्। निर्देशक चौधरीका अनुसार यो ‘एपिक एक्सन ड्रामा’ हुनेछ।

सौरभले यसपटक अघिल्ला फिल्मको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म खिच्ने योजना बनाएका छन्। निर्माण पक्षले यसलाई नेपाली फिल्म क्षेत्रकै ठूलो स्केलको एक्सन फिल्म हुने दाबी गरेको छ।

फिल्मको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ। छायांकनको अधिकांश हिस्सा पूर्वी नेपालमा गरिनेछ।

फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। को–प्रोड्युसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्। मानकृष्ण महर्जन डीओपी रहने फिल्मको एक्सन निर्देशकमा श्री श्रेष्ठ छन्।

कमेन्ट गर्नुहोस्