फिल्म । शुक्रबार ‘हिजो आजका कुरा’ प्रदर्शनमा आएको छ । नेपाल टेलिभिजनबाट ६ सय ९९ भाग प्रसारण भएर किर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई अभिनेता सन्तोष पन्तको छोरा साकार पन्तले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । अभिनेता पन्तले यसमा कथाकार र कलाकारको मात्र भूमिका निर्वाह गरेका छन् । ‘नयाँ पुस्ताको लागि नयाँ पुस्ताले नै मेकिङ गर्नुपर्छ भन्ने सोचका साथ अगाडी बढेका हौँ,’ अभिनेता पन्तले भने ।
प्रिमियरमा सकारात्मक प्रतिक्रिया फिल्मले बटुलेको छ । यद्दपि निर्देशक पन्त दर्शक प्रतिक्रियाको पर्खाईमा छन् । हिजो आजका कुरालाई फिल्मको रुप दिन पाउँदा साकार उत्साहित छन् । उनी भन्छन्,’हिजो आजका कुरा हेर्ने र यसलाई रुचाउनेहरु ठुलो पर्दामा पाउँदा पक्कै खुसी हुनुहुनेछ । हामीले साख झर्ने काम गरेका छैनौँ । मेरो लागि यहिँ शिर्षक लिएर डेब्यु गर्नु अवसरसँगै चुनौती पनि छ ।’
फरक सोचका कुरा, बेथितिका कुरा, विदेशिनेहरुका कुरा, विदेशिएकाको कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार पारिएको छ । चार परिवार मार्फत हिजो आज भइरहेका कुराहरू देखाइएको छ । फिल्ममा अभिनेता पन्तको जोडी टेलीफिल्ममा झैँ रमा थपलिया छिन् । ‘फिल्ममा अभिनय गर्दा टेलीफिल्मका दिनहरु सम्झिए । निकै रमाइलो भयो । रिलको जोडीसँग फेरी सहकार्य भयो,’ अभिनेत्री थपलियाले भनिन् । फिल्ममा ऋचा शर्मा , दिव्य देव , रीमा विश्वकर्मा , केकी अधिकारी, स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतको अभिनय रहेको छ ।










