फिल्म । पोष्ट प्रोडक्सनमा रहेको फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । निर्माणपक्षले सोमबार फिल्मको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो ।
सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन् । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ । उक्त सांकेतिक दृश्यमा निलो रंग तल्लो भागमा र माथि गोधुली साँझ छ । दृश्यमा देखिएको व्यक्ति को हो चिनिँदैन ।
यो फिल्म आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथा हो । आमाको खुसी फर्काउन उसले के–के गर्छ, त्यही यात्राको उतारचढाव फस्टलुकमा देखाउने प्रयास गरिएको छ । फिल्मलाई निर्देशक हिमाल न्यौपानेले गरेका छन् । यो उनको डेव्यु निर्देशन हो । यसमा गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका कथा र उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्छ ।
फिल्ममा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ । यस्तै, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।
यसको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहने यस फिल्ममा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।









