चुनावी मैदानमा फिल्मकर्मीहरू

फिल्म । मङ्सिर ४ मा हुने संसदीय निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्न फिल्मकर्मीहरूले पनि उम्मेदवारी दिएका छन् । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारहरूको संख्या यसपटक उच्च छ । राष्ट्रिय सभा सदस्य रहिसक्नु भएकी गायिका कोमल ओलीले नेकपा एमालेबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको छ । कार्यकर्ता र पति बलराम शाहीसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा)बाट उम्मेदवारी दर्ता गराउनु भएको हो। केही वर्ष यता रेखा कलाकारिता भन्दा पनि राजनीतिमा सक्रिय हुनुहुन्छ । “यो मेरो गृह जिल्ला हो । साथै पार्टीले पनि यहीबाट सिफारिस गरेकोले उम्मेदवार बनेकी हुँ”, अभिनेत्री थापाले भन्नुभयो ।

फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले प्रतिनिधिसभा सदस्यका लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भयो । दासढुङ्गा, बधशाला, ग्रेटर नेपाल जस्ता फिल्म र डकुमेन्ट्री निर्देशन गरिसक्नु भएका पण्डितले विगत ६ महिना देखि नै तयारी गरिरहनु भएको थियो । “अहिले जनताले स्वतन्त्रलाई पनि विश्वास गर्न थाल्नु भएको छ । यसैले उम्मेदवारी दिएको हुँ”, निर्देशक पण्डितले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्यमै गायक संजय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । काठमाडौं क्षेत्र–६ बाट उम्मेदवारी दर्ता गराउदै समाज परिवर्तनका लागि आफू स्वतन्त्र रुपमै चुनावमा होमिएको बताउनुभयो । निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यका धादिङको क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिनुभएको छ । कमेडी च्याम्पियन हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ क्षेत्र नं १ बाट उम्मेदवारी दिनुभएको छ । फिल्म निर्माता तथा अभिनेता रोज राणाले नेपाली काँग्रेसको तर्फबाट प्यूठान-१ ‘ख’बाट प्रदेश सभातर्फ उम्मेदवारी दिनुभएको छ । “मलाई पार्टीले विश्वास गरेर अवसर दिएको छ । यसको पूर्ण सदुपयोग गर्नेछु”, उहाँले भन्नुभयो ।

फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश ‘ख’तर्फ उम्मेदवारी दिनुभएको छ । केही समय यता सक्रिय राजनीतिमा रहेका श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट उम्मेदवारी दिनुभएको हो । “मेरो उम्मेदवारी युवाहरुलाई राजनीतिमा आउनेतर्फ प्रेरणा दिनु हो । परिवर्तनको लागी अगाडी बढ्नै पर्छ”, उहाँले भन्नुभयो । श्रेष्ठले सम्झिदिए पुग्छ, २ दुना ५, ह्याप्पी न्यू इयर, पल्टन, जंगली फूल, को कसको, द मस्ट वान्टेड, बोर्डर र जन्जिर जस्ता फिल्ममा अभिनय गर्नुभएको छ ।

टेलिभिजन श्रृंखला ‘सक्किगो नि’मा ‘सिते बा’ को भूमिकाबाट परिचित मधुसुधन पाठकले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारको रुपमा काठमाडौं क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गराउनु भएको छ । यसपटक चुनावी मैदानमा देखिएको कलाकारहरूको उपस्थितिले कला क्षेत्रलाई टेवा पुग्ने विश्वास हाँस्यकलाकार शिव शंकर रिजालको छ । “कलाकारहरूलाई प्रचारप्रसारको लागि मात्र नभई जनताको सेवा गर्न योग्य ठान्ने दलहरूले अझैँ संख्या बढाउनु जरुरी छ । यद्दपि सुरुवात राम्रो छ । म लगायत धेरै साथीलाई यसले चुनावी मैदानमा आउन हौसला मिलेको छ”, कलाकार रिजालले भन्नुभयो । उहाँको नाम सर्लाही क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभाको लागि सिफारिस भएको थियो ।

कमेन्ट गर्नुहोस्