देश । अभिनेता तथा लेखक खगेन्द्र लामिछानेद्वारा लिखित उपन्यास ‘फुर्के’ सार्वजनिक भएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा लेखक लामिछानेसहित कवि विप्लव प्रतीक, नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, गायक लोचन रिजाल संयुक्त रुपमा ‘फुर्के’ विमोचन गर्नु भएको हो । अभिनयसँगै रंगमञ्च र साहित्यमा सक्रिय लामिछानेद्वारा सरल भाषाशैलीमा लेखिएको यो उपन्यास एउटा कुकुरको आत्मकथा हो ।
लेखक लामिछानेले नाम राख्न कठिनाई हुने बताए । ‘मलाई पात्रको नाम दिन गाह्रो नै हुन्छ । यद्दपि फुर्के राख्नुको कारण कुनै छैन । हामीले गाउँघरमा कुकुर मात्र नभई गाई , गोरुको नाम राख्ने गर्थ्यौँ । त्यसैले मलाई आइडिया दिएको हो’ लेखक लामिछानेले बताउनु भयो । उहाँले आफूले कुकुर पालेको प्रसंग सुनाउदै त्यसैले नै लेखनमा प्रेरित गरेको बताउनुभयो । आफूले पालेको कुकुरलाई स्याहार गर्न नसक्दा गुमाउनु परेपछि अझैँ पनि आफूले कुकर पाल्न नसकेको बताउनु भयो ।
‘मैले फेरी पनि स्याहार गर्न सक्दिन कि भन्ने डर लागेर नै म अझैँ पनि नयाँ कुकुरलाई ल्याउन सकेको छैन’ उहाँले भन्नुभयो । उपन्यास लेख्दा अझैँ बढी आत्मियता बढेको उहाँले बताउनु भयो । कुकुर र मान्छेबीचको सम्बन्ध, कुकुले मान्छेलाई हेर्ने दृष्टिकोण र उसले भोग्ने भोगाई र संवेदनालाई उपन्यासमा प्रस्तुत गरिएको लेखक लामिछानेले बताउनु भयो । कुकुरको आँखाबाट समाज नियाल्न र कुकुरको जीवनमा मान्छेको भूमिका कति छ भनेर बुझ्नका लागि उपन्यास निकै उपयोगी हुने लामिछानेको भनाइ छ ।
‘मलाई लाग्छ हाम्रो स्वभाव नै कुकुरमा सर्छ । कहिँ कतै कुकुरमा मानवको स्वभाव पाइन्छ । मैले आफूले त उचित स्याहार गर्न सकिन् तर यो उपन्यासले अरुलाई त्यसप्रति सजग गराउँछ भन्ने मेरो विश्वास छ’ उहाँले भन्नु भयो । उपन्यासबारे बोल्दै पुर्वकप्तान खड्काले आफूले कुकुरबाट पाउने माया र स्नेह फरक रहेको बताउनु भयो । ‘कुकुरले हामीलाई मित्रता सिकाउछ । उनीहरुबाट पाइने स्नेह र करुणा अरुबाट पाउन मुस्किल छ’ उहाँले भन्नुभयो ।
कवि प्रतीकले ‘फुर्के’ मार्फत लेखक लामिछाने मानिससँगै अन्य प्राणी प्रति पनि उत्तिकै संवेदनशील रहेको बताउनु भयो । ‘सबैको आ-आफ्नै कथा हुन्छ । यो एउटा कुकरको कथा हो । जसले आफ्नो नजरबाट समाज र अन्य प्राणीलाई हेरिरहेको छ’उहाँले भन्नु भयो । एउटा प्राणीको मनोविज्ञान अर्काे प्राणीले लेखिनु प्रशंसायोग्य रहेको भन्दै उहाँले लेखक लामिछानेलाई धन्यवाद पनि दिनुभयो ।











