फिल्म । गत शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ’ लाई दर्शकले रुचाएका छन् । हलमा परिवारनै आएर फिल्म हेर्ने संख्या बढ्दै गएपछि केहि हलले जेष्ठ नगरिकलाई फिल्म नि:शुल्क हेराउने व्यवस्था गरेको छ । काठमाडौं उपत्यकाको बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकका लागि फिल्म सितैमा हेर्ने व्यवस्था गरेको हो ।
यी तीनै हलमा ६५ वर्ष भन्दा माथिको नागरिकले फिल्म नि:शुल्क हेर्न पाउने छन् । स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित फिल्ममा आमा , दुई छोरा र दुई बुहारीको देखाइएको छ । फिल्ममा आमा र दुई छोरा बीचको कथा देखाइएकोले फिल्म हेर्न परिवारनै हलमा आइरहेका छन् । फिल्मले शुक्रबार भन्दा शनिवार राम्रो व्यापार गरिरहेको थियो ।
फिल्मले आइतवार र सोमबार पनि राम्रो अकुपेन्सी कायम गरेको फिल्मका वितरक करण श्रेष्ठले बताए । ‘फिल्मको अकुपेन्सी आइतबार ७० प्रतिशत माथि छ । सोमबार पनि अहिलेसम्म दर्शकको उपस्थिति शोहरुमा राम्रो देखिएको छ । फिल्मले फ्यामिली दर्शक पाएकोले आउँदो समयमा राम्रो व्यापार गर्नेमा विश्वस्त छौँ’ वितरक श्रेष्ठले भने ।
निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछिको कमब्याक सफल भएको महशुस गरेका छन् । उनले आफू प्रविधिमा अपग्रेड भएको बताए । ‘मैले डिजिटल प्रविधिमा आफूलाई अपग्रेड गरे भन्ने महसुश गरेँ । नयाँ पुस्ताका दर्शक पनि फिल्म भने फिल्मी नै हेर्न रुचाउछन् भन्ने प्रमाणित भयो’ निर्देशक देउजाले भने । फिल्ममा केकी अधिकारी , आँचल शर्मा , मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ ।
यसमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सह-निर्माण छ ।फिल्मलाई कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरले निर्माण भएको हो ।