
फिल्म । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली फिल्म ‘रङ्गेली’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त कलाकारहरू दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई फरक अवतारमा प्रस्तुत गरिएको फिल्मको नाम सुरुआतमा ‘रङ्गेली ग्याङ्स्टर्स’ राखिएता पनि छायांकनकै क्रममा यसको नाम परिवर्तन गरिएको थियो ।
निर्देशक तथा लेखक निर्देशक अर्जुन सुवेदीले स्थानीयको आग्रहलाई बुझेर फिल्मको नाम परिवर्तन गरिएको बताए । उनले भने,‘रङ्गेली नाम राख्दा पनि हामीलाई केही फरक नपर्ने थियो । पछि उहाँहरूले नामले फरक पार्दैन भनेता पनि हामीले ग्याङ्स्टर्स हटाईसकेकाले नामको झमेलामा लागेनौँ । यो त्यहीको एउटा कथा हो ।’
कथासार तथा पात्र परिचय बुझाउने ट्रेलरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई टकरावलाई चित्रण गरिएको छ । अभिनेत्री मिरुनालाई शान्त स्वभावमा थारु युवतीको रूपमा देखाईएको छ ।
आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यस फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेकाछन् । सुवेदी नै यसका लेखक हुन् । ‘रङ्गेली’मा अर्पण, दयाहाङ, मिरुना सहित प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यसका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।












