‘सारी लगाइदेउ’ विपिन र उपासनाको यस्तो रूप

फिल्म । आउँदो चैत २९ मा प्रदर्शन हुने फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ । ‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्दरचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ । भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन् ।

नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ । नेपाली संस्कृति बोल्ने प्रयास गरेको छ । विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ । माया-प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ । संस्कृतिभित्र प्रेम र व्यंग्य एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माणपक्षको विश्वास छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरीलगायतको अभिनय छ । रत्यौलीमा विपीनको प्रवेशले गीतको भिडियो रोमाञ्चक बनेको छ ।

महिलाको पहिरन र मेकअपमा विपीन देखिँदा भिडयो ठठ्यौली र रमाइलो पनि देखिएको छ । यो रत्यौलीको परम्परा र विश्वास पनि हो । ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । यसमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।

कमेन्ट गर्नुहोस्