संगीत । कोरोना भाइरस (काेभिड)को बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । ३१ जनवरीमा गर्ने तयारी रहेको अवार्ड आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत हालका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
आयोजकले सहर र राज्यका अधिकारीहरू, स्वास्थ्य र सुरक्षा विशेषज्ञ, कलाकार समुदाय र सहयोगीसँगको छलफलपछि हालका लागि अवार्ड स्थगित गर्ने निर्णय लिएको जनाएका छन् । यो वर्ष ६४औं संस्करणको ‘ग्रामी अवार्ड’ हुँदैछ । अवार्डको मनोनयन गत वर्षको नोभेम्बर २२ मा भएको थियो । अब यो अवार्ड आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुनेछ ।
ग्रामी अवार्ड हरेक वर्ष हुने सबैभन्दा ठूलो म्युजिक अवार्ड हो । यसमा सहभागी हुने कलाकारहरूलाई उनीहरूको प्रदर्शनका आधारमा सम्मान गरिन्छ । कोभिड महामारीका कारण ग्रामी अवार्ड दोस्रो पटक स्थगित गरिएको हो । यसअघि ६३औं संस्करणको अवार्ड सन् २०२१ मा स्थगित भएको थियो । यो अवार्ड जनवरीको सट्टा मार्चमा आयोजना गरिएको थियो । एजेन्सी











