फिल्म । निर्देशक परिच्छेद सेनको आगामी फिल्म ‘महाराजधिराज’मा अभिनेत्री उषा रजक अनुबन्ध भएसँगै फिल्मको प्रमुख कलाकार टोली पूरा भएको छ । सोमबार निर्माण टिमले रजकलाई फिल्मको एक प्रमुख भूमिकामा अनुबन्ध गरेको हो । यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, र पुष्प खड्का जस्ता चर्चित अभिनेता फिल्ममा फाइनल भइसकेका छन् । अभिनेत्रीतर्फ वर्षा राउत र वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा अनुबन्ध छन् । साथै, जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि फिल्ममा जोडिएका छन् ।
पुराना र नयाँ पुस्ताका कलाकारलाई समेटेर ‘महाराजधिराज’ले दर्शकलाई फरक स्वाद दिने तयारी गरेको छ । प्रस्तुतकर्ता विराज विष्टले उषा रजकको अनुबन्धले प्रमुख कलाकारको लाइनअप अन्तिम भएको बताए । उनले भने, ‘हामीले अनुभवी र चर्चित अनुहारहरूलाई समेटेका छौं। अब केही सहायक भूमिकाका लागि कलाकार चयन बाँकी छ । हाम्रो टोली बलियो बनेको छ ।’
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मको कथा निर्देशक सेनले लेखेका हुन् । फिल्मका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनको तयारीमा छ । छायांकन मिति र प्राविधिक टोलीको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।












