फिल्म । गत शुक्रबार देखि प्रदर्शनरत फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत रिलिज गरिएको छ । ‘मेरो मन मुटु’ बोलको गीतमा आनन्द अधिकारीको शब्द रचना तथा तारा प्रकाश लिम्बुको संगीत छ । सार्वजनिक गीतमा डेव्यु अभिनेता सोनम तोप्देन र दीपा लामाले स्वर भरेका छन् ।कविराज गहतराजकको कोरियोग्राफी रहेको गीतमा पुजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनलाई फिचर्ड गरिएको छ । ‘सम्हालिन्छ कहिले मन’ लभस्टोरीलाई पर्दामा देखाउन माहिर मानिने निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् । भिडियोमा सौरभ लामाको छायांकन तारिफयोग्य छ ।
भदौ १७ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्य, मरिष्का पोखरेललगायतका कलाकारको पनि अभिनय छ । फिल्म सुरुवाती व्यापार राम्रो गरिरहेको छ । फिल्मले शनिवार अष्टनारायणमा ‘कबड्डी ४ : द फाइनल म्याच’ कै हाराहारीमा व्यापार गरेको बुझिएको छ । शुक्रबार र शनिवार आएको दर्शकको ‘वर्ड अफ माउथ’ मा आउँदो समयको व्यापार भरपर्ने छ ।
एवि इन्टरनेशनलको ब्यानरमा निर्मित फिल्मको कथा महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, शैलेन्द्र मान प्रधानको ब्याकग्राउन्ड म्यूजिक, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्माता अमित बस्नेत परी राना, अजित कुमार थापा हुन् ।










