फिल्म । चलचित्र विकास बोर्डले ‘टेकिङ् नेपाली सिनेमा टु दि वर्ल्ड’ भन्ने नारासहित ‘नेपाली सिनेमा फेस्ट २०२३’ को आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजन गर्दै संयुक्त अरब इमिरेट्सको दुबईमा आगामी सन् २०२३ फेब्रुअरी १३ देखि १५ (फागुन १-३ गते)सम्म यो कार्यक्रमको आयोजना हुने जानकारी दिईयो । तीन दिनको कार्यक्रममा अरबी भाषामा सबटाईटाल गरी नेपाली चलचित्रको प्रदर्शनी, नेपालबाट जाने तथा युएईमा नै रहने कलाकारहरुको विभिन्न प्रस्तुतीहरु, युएईमा नेपाली चलचित्रको बजार विस्तार तथा छायांकन सुविधा पहलको लागि त्यहाँको सरकारका प्रतिनिधिहरु, त्यहाँस्थित नेपाली दुतावास, व्यापारी, बिशिष्ट व्यक्तिहरु तथा कलाकर्मीहरूबीच अन्तर्क्रिया हुनेछ । कार्यक्रममा ‘फिल्मीङ्ग डेष्टिनेशन अफ नेपाल’ परियोजना अन्तर्गत गण्डकी प्रदेशको डकुमेन्ट्री दुबईका कुटनितिक अधिकारीहरुको साथमा अरबी भाषामा सबटाईटल गरी प्रदर्शन हुनेछ ।
पत्रकार सम्लेनमा बोर्ड अध्यक्ष भुवन केसीले अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्रको बजार विस्तारको पहलको लागि सुरु गरिएको यो कार्यक्रम नेपाली राष्ट्रिय चलचित्र उद्योगको लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको युएईमा नेपाली चलचित्रको सेन्सरमा सहजता ल्याउन, निरन्तर रुपमा चलचित्र प्रदर्शनीको वातावरण मिलाउन, नेपाल आँफैमा एक खुल्ला छायांकन स्टुडियो हो भनेर संसारलाई चिनाउन, युएई र नेपालको कलासंस्कृतिको सहकार्यताको लागि यो कार्यक्रमले महत्वपूर्ण भुमिका निभाउने उल्लेख गर्नुभयो । नेपालबाट नजिक भएको र लागत पनि सस्तो पर्ने भएकोले दुबईलाई कार्यक्रम आयोजनास्थल रोजेको केसीले बताउनुभयो । कार्यक्रमको व्यवस्थापन सूर्य कर्पोरेशनलाई दिने गरी बोर्ड अध्यक्ष भुवन केसी र कर्पोरेशनका सिईओ बाशुदेव लामिछानेबीच सम्झौतामा हस्ताक्षर समेत भएको छ ।













