पुर्वका सहरमा ‘माईकल अधिकारी’

फिल्म । भदौ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माईकल अधिकारी’ ले पुर्वका सहरहरुमा टुर गरेको छ । प्रदर्शनकै साता फिल्म युनिटले टुर गर्दै दर्शकसँग साक्षात्कार समेत गरेको छ । गत शनिबार अभिनेता सौगात मल्ल र निर्माता निरक पौडेलसहितको टिमले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा प्रेसमिट तथा मिनी कन्सर्ट सम्पन्न गरेको छ ।

विर्तामोडको ‘वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’मा आयोजना गरिएको कार्यक्रममा फिल्मको गीतमा कलाकारहरुले प्रस्तुति दिए । प्रेसमिटमा बोल्दै अभिनेता सौगातले ‘माइकल अधिकारी’मा फरक कथामा मनोरंजनको डोज रहेको बताए । फिल्म झापा र ईलाममा छायांकन गरिएका कारण पनि पूर्वेली दर्शकले फिल्ममा अपनत्व महसुस गर्ने दावी गरे ।

यस्तै, निर्माता निरक पौडेलले हाम्रै समाजको कथा भएकाले फिल्म हेरेर दर्शक निरास नहुने दावी गरे । उनले भने, ‘सेरोगेसीको विल्कुलै नयाँ कथामा परिवार बसेर मनोरंजन लिन सक्नु हुनेछ । मनोरंजनको हकमा यसले निरास बनाउदैन ।’ रञ्‍जित रौनियारको निर्देशन रहेको फिल्ममा सौगातसँगै सृष्टि श्रेष्ठ लिड रोलमा छिन् । एक गरिब दम्पतिले पैसाको जोहो गर्न सेरोगेसी (कोख भाडामा दिने) निर्णय गर्छन । त्यसपछि दम्पतिको जीवनमा आउने उतारचढाव सिनेमामा देखाइएको छ ।

यसमा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारलगायतको अभिनय छ ।मनोज केसी प्रोडक्सन म्यानेजर रहेको फिल्ममा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ ।

कमेन्ट गर्नुहोस्