फिल्म । प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन् । दर्शक माँझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन । निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ । किनकी उनलाई शिक्षक बन्दा समाजले इज्जत गर्छ भन्ने देखेका छन् । पर्दामा देखिने प्रकाश र रिल भन्दा बाहिरका प्रदीप फरक छन् । उपत्यकाको ललितपुरमा हुर्किएका प्रदीपले जुम्लामा प्रकाशले बिताएको जीवन कल्पना समेत गरेका थिएनन् । ‘म एसएलसी दिदासम्म धरहरा पनि आएको थिइन् । ललितपुरमा हुँदा पनि म त्यहिँ सेरोफेरोमा अल्झिएको थिए । त्यसैले हुन् सक्छ मलाई उपत्यका भन्दा बाहिरको जीवन क्यारेक्टरले नै जिउने अवसर दिएको छ’ प्रदीपले भने । उनले यसपटक क्यारेक्टरलाई एडप्ट गर्न निकै मेहनत गरेका छन् । अफर भएका केहि फिल्म छाडेका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै कलाकार बन्ने प्रयाश गरेका छन् । यो सब उनलाई कथावस्तुले दिएको आकर्षण हो ।
‘मलाई फिल्मको आइडिया सुन्दा नै निकै मन परेको थियो । त्यसैले म त्यो क्यारेक्टरलाई गर्न चाहन्थे । तर , आफूलाई प्रकाश बनाउन मलाई सहज थिएँन्’ उनले भने । निर्देशक दिनेश राउतसँग अन्य प्रोजेक्टको लागि भेटघाट बाक्लिदै गर्दा उब्जिएको आइडिया हो ,‘प्रकाश’ । प्रदीपले आफूलाई फरक रुपमा प्रस्तुत गर्न आट गरे । उनको गतिविधि र फिल्म चेतना देखेर निर्देशक राउत शिर्ष भूमिका दिन तयार भए । तर अभिनय कक्षा लिने समयमा भने प्रदीपलाई डर पनि लाग्यो । आफ्नो स्टारडम पनि जाने अनि क्यारेक्टर पनि कम्जोर देखिने हो कि ? भन्ने डर उनमा थियो ।
‘मैले गर्न सकिन भने कसैको लगानी डुब्छ । मेरो करियर पनि डुब्न सक्छ । किनकी यसअगाडी मैले चकलेटी लभरब्वाईको भूमिकामा आफूलाई प्रस्तुत गर्दै आइरहेको थिए’ उनले भने । यद्दपि निर्देशक राउतलाई प्रदीप प्रति भरोषा थियो । त्यसैले उनले प्रदीपलाई स्टारडमको छायाँ भन्दा बाहिर निकालेर प्रकाश बनाउने प्रण गरे । आखिर निर्देशक राउतले त्यस्तो के देखेका थिएँ त प्रदीपमा ? उनले जवाफ दिए ,‘फिल्म प्रतिको चेतना’ । प्रदीपले हेर्ने फिल्म , बुझेको फिल्म उनले गरिरहेको भन्दा फरक थियो । त्यहिँ कुराले निर्देशक राउतलाई स्टारमा कलाकार देखायो । ‘उसले फिल्मलाई लिएर दिने अभिव्यक्ति र गरिरहेको फिल्ममा भिन्नता पाएकै कारण प्रकाश बनाउन तयार भएको हुँ । किनकी स्टार मात्र नभएर प्रदीपमा मैले राम्रो कलाकार पनि देखे’ निर्देशक राउतले भने । प्रदीपले प्रकाश बन्न अभिनय सिके , अडिसन दिए , जुम्लाको भाषा सिके । एउटा स्टारले क्यारेक्टर एडप्ट गर्न गरेको यस्तो मेहनतले निर्देशकलाई विश्वस्त नबनाउने कुरै भएन । त्यसैले प्रदीपलाई ‘प्रकाश’ बनाउने तयारीमा टीम लाग्यो ।
फिल्ममा उनले जिउने मौका पाएको ‘प्रकाश’ निकै फरक छ । माओवादी द्वन्द्वमा आफ्नो पितालाई गुमाएपछि शिक्षित हुँदा हुँदै पनि शिक्षक बन्न संघर्ष गर्ने पात्र हो प्रकाश । सिस्टम विरुद्ध विद्रोहको प्रतिकको रुपमा देखाइएको प्रकाश जन आन्दोलनले दिएको उपलब्धिलाई महसुश गर्न सकेको छैन । सिस्टम फेरिने वा आम जनताका लागि सहज हुने आशमा रहेको शहिद परिवार मध्येको एक परिवारको जीवनलाई फिल्ममा देखाइएको छ । शिक्षक बन्दा सबैले ईज्जत गर्ने भएपछि उनले शिक्षक बन्ने अठोट गर्छन् । आफ्नो अभिभावक सिस्टम फेर्नका निमित गुमाएका प्रकाशले सिस्टम , समाज र आफैँसँग लड्ने लडाई नै फिल्मको कथासार हो । ‘हामीले चाहेको परिवर्तन आइसकेको छ त ? त्यसलाई आम जनताले महसुश गरेका छन् त ? यी यस्तै प्रश्न प्रकाश मार्फत देखाइएको छ’ प्रदीपले भने ।
भौगोलिक हिसाबमा कर्णाली स्थित जुम्लाको सेटअपमा कथा भनिएता पनि सिस्टम विरुद्ध गर्ने संघर्ष सबै तीर उस्तै रहेको बुझाइ उनको छ । ‘हामीले हिजो गरेको संघर्षले उपलब्धि नदिदा फेरी अर्को संघर्ष हुन् सक्छ । विद्रोहको विम्व पनि हो प्रकाश । किनकी उसले देशको नागरिकलाई संविधानले दिएको अधिकारलाई उपयोग गर्न पाएको छैन’ प्रदीपले भने । जुम्लामा झन्डै दुई महिना बिताएका प्रदीपले त्यहाँको जीवनलाई महसुश गरेका छन् । छायांकनकै समयमा उनी स्थानीयको घरमा समेत बसे । सँगै खान खाए । यसले उनलाई घुलमिल हुन् मदत गर्यो । ‘मैले स्थानीयसँग सामिप्यता गाँस्दा क्यारेक्टरलाई जीवन्त बनाउन मदत गर्यो । म प्रकाशमा प्रदीप खड्काको विम्व न देखियो भन्ने चाहन्थे’ उनले भने ।
त्यसो त छायांकन प्रारम्भ हुने समयमा उनलाई स्थानीय हेर्न पनि आएका थिए । ‘प्रेम गीतको हिरो आएको छ भन्दै हेर्न आउनु हुन्थ्यो । तर प्रेम त प्रकाश बनिसकेको थियो । मेरो छायांकन हरेक दिन हुने भएकाले म गेटअप मै हुन्थे । हेर्न आउनेले यो पनि हामी जस्तै रहेछ भन्नु हुन्थ्यो । त्यो नै मेरो पहिलो सफलता थियो , प्रकाश बनेपछि’ प्रदीपले भने । उनी आफ्नो स्टारडमको दममा नेपालको मौलिक कथा भन्न चाहन्छन । त्यसैले प्रकाशमा अभिनय गरेका छन् । उनले फिल्म मार्फत दिन खोजेको संदेश दर्शकसम्म पुर्याउन स्टारडमको आड लिएको बताए । ‘मेरो उपस्थितिले आउने दर्शकलाई हामीले देखाउने समाजसँग कनेक्ट गर्न सक्यौ भने त्यो नै सफलता हो । मेरो अघिल्ला फिल्महरु मार्फत बनेका दर्शकले प्रचारप्रसार सामग्रीहरु हेरेर दिईरहेको प्रतिक्रिया हलबाट निस्किदै गर्दा पनि पाउनेमा विश्वत छु । त्यो दर्शकलाई हलसम्म ल्याउन प्रयाशरत छु’ उनले भने ।
उनी कमर्सियल भ्यालू बोकेको फिल्ममा रमाउने दर्शकले केहि मनोरंजनसँगै यथार्थ बोकेको फिल्म हेरेर निराश नहुने बताउछन् । ‘हामीले आर्ट फिल्म रुचाउनेलाई थोरै मनोरंजनसँगै आर्ट र मसालेदार फिल्म रुचाउनेलाई पनि त्यहिँ शैलीमा हलसम्म तान्नु जरुरि छ । हाम्रो जस्तो सानो फिल्म उद्योगमा दर्शक बाडिनु हानीकारक छैन । मेरो प्रयाश दुवै दर्शकलाई हलसम्म ल्याएर सन्तुष्ट बनाउनु नै हो’ उनले भने ।
स्टारडमको छायाँबाट निस्किएर कलाकार बनिरहेका प्रदीपले यसकिसिमको फिल्ममा लगानी गर्ने निर्माता महेन्द्र अधिकारीलाई धन्यवाद दिए । उनको चाहना हुँदा हुँदै पनि यस अगाडी यस किसिमको फिल्ममा जोडिन नपाएको उनले सुनाए । ‘मलाइ यस किसिमको फिल्म गर्न मन हुँदा पनि लगानी कर्ताको इच्छा भने देखिन् । त्यसैले गर्दा महेन्द्र दाई जस्तो निर्माता आउनु पर्छ । जसले हामीलाई पनि आट गर्न मदत गर्छ’ प्रदीपले भने । उनी आउँदो समयमा ‘प्रकाश’ ले दिएको सिकाईलाई अन्य फिल्ममा प्रयोग गर्न तत्पर छन् । यस अगाडीका फिल्महरुमा गरेको अभिनयको तुलनामा उनमा परिपक्वता बढेको छ । ‘यसपछि मैले गर्ने फिल्ममा मेरो अनुभव पक्कै प्रयोग हुनेछन् । क्यारेक्टरमा बाच्ने तरिकामा सुधार देख्नु हुनेछ भन्नेमा विश्वस्त हुनु भए हुन्छ’ उनले भने ।
‘प्रकाश’ मा अभिनय गरेपछि आएको परिवर्तनले आउँदो फिल्ममा काम गर्ने उनको बुझाइ छ । उनी अब समिक्षक र दर्शक दुवैका लागि फिल्म गर्न चाहन्छन । दर्शकलाई पनि उनी एक बनाउन चाहन्छन । प्रकाशले मेकर्स र दर्शकमा दिलाउने विश्वास र प्रेमले हलसम्म ल्याउने दर्शकलाई हुने फिल्म गर्ने योजना प्रदीपको छ । किनकी उनी छिमेकी मुलुक भारतमा स्टारको रुपमा आफूलाई स्थापित गर्न खोज्दैछन् भने नेपालमा कलाकारको रुपमा । कुनै समय नेपालमा आफ्नो भविष्य नदेखेर अष्ट्रेलिया जाने तयारीमा रहेका प्रदीप यतिबेला नेपालमा खोजिने कलाकारहरुमा अग्रपंक्तिमा पर्छन् ।
मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्म बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।











