घरेलु बजारमा कस्तो छ ‘झरीपछिको इन्द्रेणी’ ?

फिल्म । गएको पुस ४ देखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गर्न सकेको छैन । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ को तथ्यांकअनुसार पछिल्लो शनिबार अर्थात् पुस १२ गतेसम्म फिल्मले ६२ लाख ६९ हजार ४७५ रुपैयाँ नेरु ग्रस आम्दानी गरेको हो । सोही अवधिमा अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको फिल्मका १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन् ।

फिल्मको प्रचारप्रसारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत सक्रिय सहभागिता जनाएका थिए । उनले फिल्मको प्रचार गर्नुका साथै एक गीतमा स्वरसमेत दिएका थिए । यति हुँदाहुँदै पनि फिल्मले दर्शकलाई हलसम्म तान्न अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायत कलाकारको अभिनय रहेको छ । नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव तथा नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ ।

कमेन्ट गर्नुहोस्