‘मनोवैज्ञानिक रूपमा जिन्दगी भर असर पार्छ’

फिल्म । अभिनेत्री दीया मास्केले आफूले भोगेको यौन दुर्व्यवहारको घटना सार्वजनिक गरेकी छिन् । अभिनेत्री हुँदा हुँदै पनि उनले आफ्नो घटना भन्न नसकेको जनाउँदै एक अन्तरवार्तामा बाल्यकाल र विद्यालय जीवनमा भोगेका दुई घटनादेखि पछिल्लो समेत दुर्व्यवहार भोग्नुपरेको अनुभव बाँडेकी छन् । दियाले दुर्व्यवहारविरुद्ध बोल्न जरुरी रहेको बताउँदै आफ्नो घटना सार्वजनिक गरेको बताएकी हुन् । उनले अन्तर्वार्तामा संसारमा सायदै कोही पनि केटी यौन दुर्व्यवहारमा नपरेका होलान् भनेकी छिन् ।

‘कहीँ ठूलो घटना घटेको छ र कहीँ सानोतिनो । सानो घटनाले पनि केटीलाई मनोवैज्ञानिक रूपमा जिन्दगी भर असर पार्छ’ दियाले भनिन् । उनले ‘जुन त लाग्यो ताराले’ गीतको समयको घटना साटेकी छिन् । उनी त्यो समयमा आठ वर्षको रहेको र आफू सहितको बच्चाहरूको ग्रुप स्कुलमा रहेको बताएकी छिन् । उनले बसमा आफू पनि सुतिरहेको समयमा आफूमाथि दुर्व्यवहार भएको बताइन् ।

‘बसमा हामी खप्टेर सुतिरहेका थियौँ । हाम्रो पिरियड पनि भएको थिएन । ममाथि थिएँ सबभन्दा । मलाई केही असजिलो महसुस भयो । आँखा खुल्यो मेरो । त्यो बसको ड्राइभरले मेरो ब्रेस्ट समाती राख्या थियो । त्यसरी छुँदा त्यो बच्चालाई के रमाइलो भएको होला ? कम्तीमा त्यो मान्छे ३० वर्षको होला’ दियाले भनिन् । उनले आफूलाई आफ्नै स्कुलको एक शिक्षकले चुम्बन गरे पास गर्दिन्छु भनेको पनि सम्झिन् ।

‘मलाई किस गरे तँलाई पास गर्दिन्छु भन्या छ, म्याथ टिचरले । सिरियस्ली सर, तपाईंलाई अहिले मैँले भेटेँ भने म छोड्नेवाला छैन । तपाईंलाई म एक झापड चाहिँ दिन्छु’ उनले भनिन् । दियाले यी सबकुराहरु बाहिर ल्याउन निकै साहस चाहिएको पनि बताएकी छिन् । उनले यी यस्ता घटनाले मनोवैज्ञानिक रूपमा जीवनभर पछ्याउने समेत बताइन् । उनले यस्ता भोगाइहरू एक वा दुई दशक पश्चात् पनि बाहिर आउने बताइन् । ‘दुर्व्यवहार छ हाम्रो समाजमा भन्न सकिँदैन, तर अहिले चाहिँ म भन्न सक्छु’ उनले भनिन् ।

कमेन्ट गर्नुहोस्