फिल्म । निर्माणाधीन फिल्म ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि यो फिल्ममा उनको प्रवेश भएको हो । सिर्जनाले यसअघि फिल्म ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । यो दोस्रो फिल्ममा पनि उनले दयाहाङसँग सहकार्य गर्नेछिन् ।
निर्माण पक्षले सिर्जनाको जोडी र अन्य कलाकारबारे खुलाएको छैन । तर, हालसम्मको कलाकार लाइनअप हेर्दा ‘मिरमिरे’ बलियो बन्ने देखिन्छ । फिल्मको निर्देशन यम शेर्पाले गरेका छन्, जसले कथा पनि लेखेका छन् । उनले ग्रामीण परिवेशको सामाजिक कथालाई उत्कृष्ट बनाउन बलियो कलाकार र प्राविधिक टिम तयार पारेको बताए ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’का निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् । सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् भने कार्यकारी निर्माता रोहित कट्टेल छन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।