फिल्म । निर्माता रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको फिल्म ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । भुटानी निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा बन्न लागेको फिल्म यो साल छनोट भएका २२ फिल्ममध्ये एकमा पर्न सफल भएको हो । एसियन प्रोजेक्ट मार्केट कोरियामा वर्षेनी हुने बुसान फिल्म फेस्टिभलको महत्वपूर्ण इभेन्ट हो । बुसान इन्टरनेसनल फिल्म फेस्टिभल अक्टोबर ७ देखि १६ सम्म सीमित विदेशी फिल्मकर्मीका साथ यो साल भर्चुअल रुपमा सम्पन्न हुने कार्यतालिका रहेको छ ।
पोखरेल र ग्याल्क्षेनले यसअघि निर्माण गरेको फिल्म ‘रेड फालुस’ले सन् २०१८ मा बुसानमै भएको प्रतिस्पर्धामा फेप्रिस्की अवार्ड जित्न सफल भएको थियो । बुसान इन्टरनेसनल फिल्म फेस्टिभल अन्तर्गत नै न्यु करेन्ट सेक्सनमा छानिएका एसियन फिल्मलाई फेप्रिस्की अवार्ड दिने प्रचलन छ । एसियाका फिल्ममेकरलाई विश्व सिनेमासम्म पुर्याउने उद्देश्यले सुरु भएको एपीएममा यो साल नेपालसँगै जापान, चीन, बंगलादेश, भारत, श्रीलंका, ताइवान आदि देशका फिल्ममेकर छनोट भएका छन् । बुसानले भर्खरै जारी गरेको एपीएमको लाइनअपमा कान्समा अवार्ड जितिसकेका निर्देशक पनि छन् ।
‘रिप्पल अफ लाइफ’ शीर्षकको फिल्मसहित एपीएममा छनोट भएका चिनियाँ निर्देशक वेई सुुनको पछिल्लो फिल्म स्ट्राइडिङ इन्टु दि वाइन्डले सन् २०२० को कान्स जितेको थियो भने जापानिज निर्देशक कोजी फुकडाको पछिल्लो फिल्म ‘दि रियल थिङ’ले पनि कान्स जितेको थियो । यसैगरी फुकडाको फिल्ममा ‘हार्मिनियम’ले पनि सन् २०१६मा जुरी अवार्ड जितेको थियो । बुसानको विभिन्न सेक्सनमा अवार्ड जितेका निर्देशक पनि यो पटकको एपीएममा छनोट भएका छन् ।
कोभिड १९ का कारण यो सालको फेस्टिभल भने भर्चुअल हुनेछ । त्यसैले एपीएम पनि अक्टोबरको १२ देखि १४ सम्म भर्चुअल रुपमै सम्पन्न हुने पोखरेलले जानकारी गराए । उनले एपीएम एसियाका फिल्ममेकरलाई लगानीकर्ता खोज्ने सवालमा महत्वपूर्ण प्लेटफर्म रहँदै आएको बताए । ‘रिभर इन दि मिरर’ले १० वर्षे बालकले ८१ वर्षीय हजुरआमालाई बदला लिन उनलाई अमर बनाउन सञ्जिवनी बुटी खोज्न हिडेको कथा प्रस्तुत गर्नेछ । पोखरेलले फिल्मको बजेट साढे तीन करोड हाराहारी रहेको बताए ।
पोखरेलले यसअघि ‘हाइवे टु धम्पुस’, ‘कथा ७२’, ‘माउन्टेन टु क्लाइम्ब’ आदि फिल्म बनाइसकेका छन् । जसमध्ये ‘माउन्टेन टु क्लाइम्ब’ले नेपाललाई पहिलो पल्ट एम्मी अवार्ड जिताएको थियो भने पोखरेलले नै निर्माण गरेका लुघ फिल्म ‘झालो’ र ‘तातिनी पनि विश्वका धेरै फिल्म फेस्टिभल चहारेका थिए ।










