डान्सिङ गीत ‘कुरा सिधा छ’ सार्वजनिक

फिल्म । प्रदर्शनरत चलचित्र ‘परदेशी–२’को डान्सिङ नम्बरको गीत ‘कुरा सिधा छ’ युट्युबमा सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनको छैठौं दिन बुधवार निर्माण टिमले गीतको पुरा भिडियो सार्वजनिक गरेको हो । यो गीत यसअघि ‘बिहाइन्ड द सिन’सहित लिरिकल शैलीमा ल्याइएको थियो । यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छन् । प्रताप दास र मिना निरौलाले गीतमा स्वर दिएका छन् । बि.बि अनुरागीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई गोविन्द राईले कोरियोग्राफी गरेका हुन् ।

बडा दशैंको अवसर पारेर प्रदर्शनमा आएको ‘परदेशी–२’ले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ । चलचित्रले चार दिनमा (सोमवारसम्म) २ करोड हाराहारी ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण पक्षले सार्वजनिक गरेको थियो । मंगलवार र बुधवार पनि चलचित्रले देशभरका हलमा दर्शकको राम्रो साथ पाएको छ ।

नारायण रायमाझीको निर्देशन रहेको चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर चलचित्र निर्माण गरेका हुन् । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ ।

कमेन्ट गर्नुहोस्