खेलकुद । कोपा अमेरिका २०२१ को फाइनल अर्जेन्टिना र लियोनल मेसीको फ्यानका लागि खास रह्यो । विश्व फुटवलमा सर्वोत्कृष्ट नाम बनिसकेको मेसीले पहिलोपटक सिनियर टोलिबाट देशलाई उपाधि दिलाए । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै आइतबार बिहान कोपा अमेरिकाको उपाधि जितेको हो । मेसीले कप्तानी सम्हालेको झन्डै ७ वर्षपछी उपाधि दिलाउन सफल भए ।
मेसीको सपना पुरा गर्न ब्राजिल विरुद्ध भएको फाइनल खेलमा २२ औं मिनेटमा एक मात्र गोल एन्जल डि मारियाले गरे । उनले रोड्रिगो डे पउलको पासमा गरेको गोल नै निर्णायक बन्यो । चोटका कारण सन् २०१६ को विश्वकप फाइनलसहित केही ठूला खेल गुमाएका डि मारियाले ब्राजिलविरुद्ध भने पहिलो रोजाइमा खेलेका थिए । उनि खेलका म्यान अफ द म्याच पनि बने ।
यस्तै , यसपटक अर्जेन्टिनालाई अगाडी बढाउनेमा नाम आउछ , गोलकिपर एमिलियानो मार्टिनेजको । उनले सेमिफाइनलमा कोलम्बिया विरुद्ध भएको खेलमा पेनाल्टी हुँदा ३ प्रहार विफल बनाएका थिए । उनले अन्य एक प्रहार पनि अनुमान लगाएका थिए । ब्राजिल विरुद्ध खेलिएको फाइनल खेलमा पनि उनले गोल हुन् दिएनन् । गत महिना मात्र अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यु गरेका मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । उनले कोपामा कूल ६ खेल खेल्दा ४ क्लिनसिट राखे ।











