ब्रुकलिनमा ‘महानगर’

फिल्म । कोरोना भाइरसको कारणले देशा सिर्जित अवस्थाले गर्दा पछिल्लो समय नेपालमा फिल्मी क्षेत्र ठप्प झैँ छ । दर्शकले भिडभाडका साथ फिल्म हेर्न नपाएको पनि डेढ वर्ष भइसकेको छ । यसैबीच नेपाली फिल्मलाई लिएर भने सकारात्मक खबर आएको छ । भारतको कोलकाता फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्म ‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ ।

मोहन राई निर्देशित फिल्म कोलकाता फिल्म फेस्टिभलमा फिल्म एसियन सेलेक्टअन्तर्गत दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छनोट भएको थियो । ‘अञ्जली’ र ‘सखी’ नामका दुई फिल्म बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यू फिल्म हो । मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्ने फेस्टिभलको २४ औं संस्करणमा फिल्मले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय फिल्मबाट ठाउँ बनाएको हो ।

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ । सानो घटनाका कारणसँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो । फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे आदि कलाकार पनि अभिनय रहेको छ । फिल्मलाई माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स्ले निर्माण गरेको हो ।

निर्देशक मोहन राई स्वयंको लेखन रहेको यो फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्